इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

नगर उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको नेतृत्वमा विभिन्न वडामा रहेका औषधि पसल तथा अन्य व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गरिएको हो । अनुगमनका क्रममा पसलहरूमा बिक्री वितरण भइरहेका सामग्रीको म्याद, मूल्यसूची, दर्ता तथा सञ्चालनको अवस्थाबारे निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ । विशेषगरी औषधि पसलहरूमा औषधिको गुणस्तर, म्याद सकिएका औषधि तथा आवश्यक मापदण्ड पालना भए–नभएको विषयमा ध्यान दिइएको थियो ।

नगर उप–प्रमुख काफ्लेले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले व्यवसायीहरूलाई कानुन तथा मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उपभोक्तामैत्री सेवा दिन पनि निर्देशन दिनुभयो ।

नगरपालिकाले बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन नियमित रूपमा अनुगमन अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।