इटहरी । प्रवासी नेपाली मञ्च कतारले ३३औं मदन–आश्रित स्मृति दिवस विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी मनाएको छ ।
दोहास्थित सम्सरा थकाली रेस्टुरेन्टको सभा हलमा आइतबार साँझ आयोजित कार्यक्रममा कतारमा रहेका आस्थावानहरुको उल्लेख्य सहभागिता रहेको थियो । वि।सं। २०५० सालमा भएको जिप दुर्घटनामा परी तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । सोही दुःखद् घटनाको स्मरणमा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोखरेल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चूडामणि कार्कीले गरेका थिए ।
कार्यक्रमको सुरुवातमा उपस्थित सबैले दिवंगत नेताद्वयको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले जननेता भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक ढंगले जनताको घरदैलोसम्म पुर्याउन खेलेको ऐतिहासिक भूमिका तथा आश्रितले संगठन निर्माणमा पुर्याएको योगदान नेपाली राजनीतिक इतिहासमा सदैव स्मरणीय रहने बताएका थिए । वक्ताहरूले देश, जनता र लोकतान्त्रिक आन्दोलनप्रति नेता द्वयले देखाएको त्याग, समर्पण, अनुशासन र वैचारिक स्पष्टताले आजको युवापुस्ता तथा राजनीतिक कार्यकर्तालाई मार्गदर्शन गरिरहेको धारणा व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ ९जबज०को सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा आज पनि उत्तिकै सान्दर्भिक र व्यावहारिक रहेको धारणा व्यक्त गरे । उनले वर्तमान पुस्तामा बढ्दै गएको व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन, राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले एकता, वैचारिक संघर्ष, इमानदारी र जनमुखी राजनीतिको मार्ग अवलम्बन गर्नु नै दिवंगत नेताद्वयप्रतिको सच्चा श्रद्धाञ्जली हुने सन्देश दिएका थिए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कार्कीले मदन–आश्रितको राजनीतिक योगदान र त्यागको चर्चा गर्दै उनीहरूले देखाएको विचार, अनुशासन र संगठनात्मक संस्कारलाई वर्तमान पुस्ताले व्यवहारमा उतार्न आवश्यक रहेको धारणा राखेका थिए । मञ्चका उपाध्यक्ष अफसर अलि खानले स्वागत मन्तव्य राख्दै जननेता भण्डारी र आश्रितको जीवनीबारे प्रष्ट पारेका थिए सचिव शेषराज तिमिल्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए ।


