इटहरी । मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा ४ जीपीए हासिल गर्न सफल छात्रा स्वीकृति निरौलालाई विशेष सम्मान गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनलाई फूलमाला, खादा र अविर सहित ५० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले स्वीकृतिसहित विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै नयाँ योजना घोषणा गर्नुभयो।
जसअन्तर्गत ३.६ जीपीए भन्दा माथि ल्याउने ८ जना विद्यार्थीलाई विद्यालयमै सञ्चालित कक्षा ११ र १२ का विभिन्न संकायमा अध्ययनका लागि करिब ७५ हजार रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष युवराज बास्कोटा लगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले सामुदायिक विद्यालयबाट ४ जीपीए हासिल हुनु गौरवको विषय भएको र यसले नगरकै शैक्षिक प्रतिष्ठा उकासेको बताउनुभयो। प्रधानाध्यापक बुढाथोकीले आगामी दिनमा पनि उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।


