इटहरी । इलाम जिल्लामा सञ्चालनमा रहेका विभिन्न सामुदायिक विद्यालयको नाममा झापामा रहेको जमिन कब्जामा परेको पाइएको छ । इलामको आदर्श माध्यमिक विद्यालयको नाममा जग्गा धनीपुर्जा कायम रहेको ११ बिघा र शान्तिपुर माध्यमिक विद्यालयको दुई बिघा जमिन झापाको अर्जुनधारा नगरपालिकामा बिचौलिया र स्थानीयको कब्जामा परेको पाइएको हो । आदर्श माविको अर्जुनधारा नगरपालिका–६ मा रहेको ११ बिघा, १० धुर जमिन बर्सौंदेखि बिचौलिया र स्थानीयको कब्जामा रहेको पाइएपछि विद्यालयले जमिन फिर्ता ल्याउन जिल्ला प्रशासन कार्यालय इलाम र इलाम नगरपालिकामा निवेदन दिएको छ । 

विद्यालयको जमिनमा बर्सौंदेखि कब्जा गरेर बसेका स्थानीयले विद्यालय प्रशासन आफ्नो जमिनबारे बुझ्न जाँदा हतियारसहित लखेट्ने गरेको पाइएको छ । स्थानीय विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका डम्बर यादवले विद्यालयको जमिन अतिक्रमण गरी घरायसी कागजका आधारमा बिक्री गरी १२ घरपरिवारलाई विद्यालयको जमिनमा घरलगायतका संरचना निर्माण गराउनुभएको पाइएको छ । अहिले विद्यालयका जमिनमा दर्जनौँ पक्की घर र सडकलगायतका संरचना निर्माण गरिएको छ । तत्कालीन माओवादी द्वन्द्वको समयदेखि अतिक्रमणको चपेटामा परेको विद्यालयको जमिन २०७४ सालको स्थानीय तहको निर्वाचनपछि थप अतिक्रमणमा परेको पाइएको छ । अर्जुनधारा नगरपालिका–६ का पूर्ववडाध्यक्ष लोकनाथ गौतमको पालामा विद्यालयको जमिन अतिक्रमण गरी धेरै परिवार बसेको विद्यालयले जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विद्यालयको जमिन थप अतिक्रमणमा परेको खुलेको छ ।

विद्यालयले जमिन अतिक्रमणमा परेपछि उक्त जमिनबापत विद्यालयले हालसम्म एक रुपियाँ आम्दानी गर्न सकेको छैन । विद्यालयको जमिन अतिक्रमण परेपछि विद्यालयले भूमि करसमेत तिर्न नसकेको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले जानकारी दिनुभयो । उहाँले जमिन फिर्ता ल्याउन जिल्ला प्रशासन र नगरमा निवेदन दिएको बताउनुभयो । इलाम नगरपालिकाका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले विद्यालयको जमिन बिचौलिया र स्थानीयको कब्जाबाट फिर्ता ल्याउन अर्जुनधारा नगरपालिकालाई इलाम नगरपालिकाले पत्राचार गरिसकेको जानकारी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले विद्यालयलाई जमिनको चारकिल्ला माग गरेको जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठले विद्यालयको जमिन फिर्ता गर्न नगरपालिकाले विभिन्न निकायमा पहल थालेको जानकारी दिनुभयो । आदर्श माविलाई समाजसेवी रत्नकुमारी मानन्धरले दान दिनुभएको १६ बिघा जमिनमध्ये स्थानीयको मोहियानी कटाएर ११ बिघा १० धुर जमिन रहेको छ ।

यसअघि नै अदालतले समेत उक्त जमिन अतिक्रमण भएको ठहर गर्दै खाली गर्न आदेश दिइसकेको छ । इलामको रोङ गाउँपालिकाको शान्तिपुर माध्यमिक विद्यालयको दुई बिघा जमिनसमेत अतिक्रमणमा परेको खुलेको छ । अर्जुनधारा नगरपालिका–१ मा रहेको विद्यालयको जमिन २०२९ सालदेखि स्थानीयले कब्जा गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । अध्यक्ष स्याङ्बोसहित प्रतिनिधि उक्त क्षेत्रमा गएर जमिन खाली गर्न निर्देशन दिइसकेको गाउँपालिकाले जनाएको छ । झापाका तीन वटा पालिकामा इलामको करफोक माध्यमिक विद्यालयको ३१ बिघाभन्दा बढी अतिक्रमणको चपेटामा परेको जमिनको खोजी भइरहेको छ । झापाको कनकाई नगरपालिकामा १७ बिघा आठ कट्ठा, पाँच धुर, अर्जुनधारा नगरपालिकामा १० बिघा १० कट्ठा र शिवसताक्षी नगरपालिकामा तीन बिघा १८ कट्ठा जमिन अतिक्रमणमा परेपछि खोज्ने काम भइरहेको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले इलामका विद्यालयको जमिन झापामा अतिक्रमणमा परेको निवेदन प्राप्त भएपछि सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालय झापामा जमिन खाली गराउने प्रव्रिmयाका लागि पत्राचार गरिएको जानकारी दिनुभयो । इलाम जिल्लाका धेरै स्थानमा विद्यालयको जमिन अतिक्रमणमा परेको खुल्न थालेको छ । सूर्योदय नगरपालिका–४ मा रहेको जनक माध्यमिक विद्यालयको २९३ रोपनी जमिनमध्ये हाल विद्यालयले ४२ रोपनी जमिन मात्र उपभोग गरिरहेको छ । बाँकी सबै जमिन स्थानीयको कब्जामा रहेको विद्यालयले जनाएको छ । विद्यालयको जमिनले पर्यटकीय क्षेत्र अन्तुपोखरीको केही भाग र आसपासका केही संरचनासमेत भेटाउने भएपछि स्थानीयले जमिन यकिन गर्न अवरोध गर्ने गरेको पाइएको छ । विद्यालयले आफ्नो जमिन खोज्नका लागि नगरपालिकामार्फत जिल्ला प्रशासन कार्यालयमा विवरण पठाइसकेको विद्यालयका प्रधानाध्यापक बेनुभक्त खनालले जानकारी दिनुभयो ।