इटहरी । जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ । वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । वडाले हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उहाँको भनाइ छ । विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ । वडाले रु दुई लाख बजेट विनियोजन गरेर आवश्यक सहयोग गरेको वडाध्यक्ष राईले बताउनुभयो । वडाले आगामी दिनमासमेत विपन्न तथा लक्षित वर्गका लागि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । स्थानीयवासीले पनि वडाको यो पहलप्रति खुसी व्यक्त गरेका छन् ।
विद्युत् सेवा उपलब्ध भएसँगै साँझपखको अँध्यारो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासी सुदर्शन गहतराजले बताउनुभयो । वडाको सहयोगमा घरमा विद्युत् जडान भएपछि दैनिक कामकाजमा सहयोग पुगेको उहाँको भनाइ छ । घरमा विद्युत् जडान भएपछि बालबालिकाको पठनपाठनसँगै उज्यालोमा बस्न पाएको अर्का स्थानीय मानबहादुर विश्वकर्माले बताउनुभयो । वडाले गरेको यस कामले विपन्न परिवारको बस्तीमा विद्युत् बलेको उहाँको भनाइ छ । वडामा विद्युत् विस्तारको काम करिब ९८ प्रतिशत सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । बाँकी रहेका नागरिकको घरमा पनि जडान गरेर उज्यालो वडा घोषणा गर्ने तयारी रहेको वडाको भनाइ छ ।

