इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको आयोजनामा गाउँपालिकाको सिँवा बजार र तापेथोक क्षेत्रमा दुई दिने शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत कुल २२८ जनाले स्वास्थ्य सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका अजयकुमार झाले जानकारी दिनुभयो । उहाँको अनुसार सिँवा बजारमा ४१ पुरुष र ८५ महिला गरी १२६ जना लाभान्वित भएका छन् भने तापेथोकमा ४१ पुरुष र ६१ महिला गरी १०२ जनाले सेवा लिएका छन् ।

शिविरमा सहभागी नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जनाएको छ । विशेषगरी हाइड्रोसिल, पायल्स, स्त्रीरोग लगायत विभिन्न स्वास्थ्य समस्यासम्बन्धी जाँच तथा परामर्श गरिएको थियो।

ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको झाको भनाइ छ। आयुर्वेदिक उपचार तथा परामर्शप्रति स्थानीयको आकर्षण बढ्दै गएको र शिविरबाट धेरै नागरिक प्रत्यक्ष लाभान्वित भएको जनाइएको छ । स्थानीयवासीले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।