इटहरी। लामो समयदेखि कर्मचारी अभावका कारण बन्द रहेको ताप्लेजुङको उत्तरी क्षेत्रस्थित पुनः सञ्चालनमा आएको छ ।
भन्सार कार्यालयमा नायब सुब्बा स्तरका कर्मचारी प्रदीप धिताल भन्सार प्रमुखका रूपमा कार्यभार सम्हाल्न फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोला पुग्नु भएपछि कार्यालय सञ्चालनमा आएको हो । नवनियुक्त भन्सार प्रमुख धिताललाई वडा नं। ७ का वडा अध्यक्ष छेतेन शेर्पाले स्वागत गर्नुभएको छ । स्थानीयवासीले लामो समयपछि भन्सार सेवा पुनः सञ्चालनमा आउनुलाई सकारात्मक रूपमा लिएका छन् ।
नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङचुङगोला हो । करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । साथै तमोर कोरिडोर सडक गाउँभन्दा तलबाट निर्माण भइसकेकाले अब नयाँ भन्सार भवन सडक पहुँच नजिक निर्माण गर्नुपर्ने आवश्यकता रहेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
वडाध्यक्ष शेर्पाले आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थ मन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँले सम्बन्धित निकाय तथा सरोकारवालालाई आवश्यक सहजीकरण गरिदिन पनि आग्रह गर्नुभएको छ ।
भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जेनजी ताप्लेजुङले भन्सार विभागमा पटक–पटक ताकेता गर्नुका साथै धर्नासमेत दिएका थिए । लाङचुङगोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीयवासी उत्साहित देखिएका छन् ।


