इटहरी ।  सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ ।

बुधबार आयोजित विशेष समारोहका बीच सिटी हलको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताउनुभएको छ । स्थानीय तहको महत्त्व बढेका बेला लौकही सिटी हलको भव्य उद्घाटन समारोह पनि यसकै एउटा उत्कृष्ट उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा यस प्रकारको आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु निकै सराहनीय कदम भएको भन्दै राष्ट्रपति पौडेलले यो परियोजनाले विकासका कार्यमा तीनै तहका सरकारबीच हुन सक्ने आपसी सहकार्यको एउटा नमुना प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै स्थाaनीय तहलाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा उल्लेख गर्नुभयो र जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्न, सुविधा उपलब्ध गराउन र विकास निर्माणका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको प्रस्ट पार्नुभयो । राष्ट्रपति पौडेलले जनताको न्यूनतम आधारभूत आवश्यकता र जनचाहना अनुरूप विकासका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले सप्तकोसी नदीको किनारमा रहेको कोसी गाउँपालिकाको ऐतिहासिक एवं धार्मिक महत्त्वको समेत चर्चा गर्नुभयो । हाल कोसी गाउँपालिकामा पर्ने सप्तकोसी नदीको कुशहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएको इतिहास स्मरण गर्नुहुँदै उहाँले यो भूमिलाई प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको कडीका रूपमा चित्रण गर्नुभयो ।

यस क्षेत्रको सामीप्यमा रहेका बराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा जस्ता महत्त्वपूर्ण धार्मिक स्थलहरूको भ्रमणबाट आफूलाई मनोरम अनुभूति भएको बताउँदै उहाँले ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सम्बद्ध सबैसँग आग्रह गर्नुभयो । विगतको स्मरण गराउनुहुँदै राष्ट्रपति पौडेलले वि।सं। २०६५ सालमा कोसी बाँध फुट्दा विस्थापित भएको बस्ती अहिले पुनः स्थापित भई विकासका गतिविधिहरू तीव्र रूपमा अघि बढेको देख्दा खुसी लागेको व्यक्त गर्नुभयो ।

उहाँले बाढीपीडित तथा जोखिमयुक्त यस क्षेत्रमा विपद् व्यवस्थापनको पूर्वतयारीका लागि पर्याप्त व्यवस्था मिलाउन तीनै तहका सरकारको आपसी हातेमालो र विशेष ध्यान पुग्ने अपेक्षा समेत राख्नुभयो । प्रतिनिधि सभा सदस्य ई। दीपक कुमार साहले सिटी हल जुन प्रयोजनका लागि निर्माण भएको हो, सोही प्रयोजनमा उपयोग गरिनुपर्ने धारणा राख्नुभयो । प्रदेश सभा सदस्य सदानन्द मण्डलले सिटी हल निर्माणमा पूर्व अर्थ तथा सञ्चार सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले कोसीको पीडा खेपेको क्षेत्र र आरक्ष पीडित भएको ठाउँमा पनि यस्तो गौरवशाली योजना सम्पन्न भई उपयोगमा आएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रम कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । सङ्घीय सरकारको २८ करोड रुपियाँ लागतमा सुनसरीको कोसी गाउँपालिका(१ स्थित लौकही बजारमा निर्माण गरिएको यस आधुनिक हलमा ९०० जना अट्ने क्षमताको अडिटोरियम हल, २०० जना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्ट कक्ष, दुईवटा रिहर्सल हल र पार्किङको सुविधा रहेको छ ।