इटहरी। धनकुटा चौबिसे गाउँपालिका(२, मुढेबासस्थित डाँडागाउँमा मगर जातिको सङ्ग्रहालय ओझेलमा परेको छ । पर्याप्त प्रचारप्रसार र सडक पहुँच नभएका कारण सङ्ग्रहालय ओझेलमा परेको हो । सङ्ग्रहालयमा करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटक पुग्ने गरेका छन् । मगर जातिले प्रयोग गर्ने पुराना तथा लोपोन्मुख सामग्री रहेको गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले बताउनुभयो । सङ्ग्रहालययसँगै सो स्थानमा हामस्टे सञ्चालन गर्ने तयारी गरेपनि होमस्टे सञ्चालन हुन नसक्दा सङ्ग्रहालय पनि ओझेलमा परेको उहाँको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि चार वर्ष पहिले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको दस लाख रुपियाँबाट सुरुवात गरिएको थियो । धनकुटामै सबैभन्दा बढी मगर जातिको बसोवास रहेको मुढेबासमा मगर समुदायको वेशभूषा, भाँडाकुँडा, बाजा, पुराना हातहतियार, काठका सामग्री लगायत लोपोन्मुख अवस्थाका वस्तु सङ्ग्रह गरिएका छन् । यता चौबिसे गाँउपालिका ७ डाँडाटोलमा निर्माण गरीएको जनजाती सङ्ग्रहालय पनि ओझेलमा परेको छ । विशेषगरि लिम्बू जातिहरुको संस्कार तथा संस्कृतिहरु हेर्न पाइने यो सङ्ग्राहलय २०७५ सालमा निर्माण गरएिको हो । यहाँ लिम्बू याखा, मगर लगाएत बिभिन्न जातिको संस्कृतिहरु झल्कने वस्तुहरुको अवलोकन गर्न सकिन्छ । यस स्थानमा साना तथा ठूला सवारी साधनबाट पुग्न सकिन्छ । सङ्ग्रहालय निर्माण गरिएपनि सो क्षेत्रमा पर्यटक नपुग्दा सङ्ग्राहालय ओझेलमा परेको गाउपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।