इटहरी । चिया निकासीका लागि सरकारले दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । गत मे १ देखि नेपाली चिया निर्यातमा भारतले कडाइ गरेपछि निकासी ठप्प भएको चियाका लागि तत्काल निकासी खुलेको जानकारी भारतीय पक्षबाट आए पनि त्यो दीर्घकालीन नहुने बुझाइ उनीहरूको छ ।
भारतको कडाइले १९ दिनसम्म चिया निकासी भएको थिएन । आज भने भारतले त्यसलाई खुकुलो गरेकाले तत्कालीन समाधान पाएको हो । यसको असर यस वर्षभरि नै उत्पादन हुने चियामा पर्ने पनि उत्पादकको बुझाइ छ । भारतको कडाइ नयाँ नभई करिब नौ वर्षयताको रहेको किसान प्रतिनिधि तथा केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । यसअघि भारतले सन् २०१७ र सन् २०१८ मा बर्सेनि नेपाली चिया निकासीमा कडाइ गरेको थियो । सन् २०१९ को कोभिडपछि मौन बनेको भारतले पुनः सन् २०२०, २०२१, २०२२, २०२४, २०२५ र २०२६ को मेमा नेपाली चिया निकासीमा कडाइ गर्दै गुणस्तरको प्रमाणपत्र अनिवार्य गर्दै आएको छ । राईका अनुसार सन् २०१७ यता पटक पटक नेपाली चिया निर्यातमा कडाइ हुँदै, फुकुवा हुँदै आएको छ ।
हरेक पटक नेपाली चियाको गुणस्तरमा प्रश्न उठाएर उतै परीक्षण गर्ने बहाना निकालिएको छ । राईले नेपालको खाद्य तथा गुणस्तर विभागको परीक्षणलाई भारतले मान्यता दिनु पर्छ भन्ने कुरालाई नेपाल सरकारले उठाउनु उत्तम विकल्प रहेको बताउनुभयो । नेपाली चिया गुणस्तर र स्वादमा भारतीय चियाभन्दा राम्रो रहेको विश्वास दिलाउने र दीर्घकालीन समाधान खोज्ने दायित्व सङ्घीय सरकारको रहेको उहाँको बुझाइ छ । पछिल्लो पटक हिजो मात्रै भारतीय टी बोर्डले सूचना जारी गरी गत मेदेखि लागु गरिएको भारत आयात हुने चियामा केही खुकुलो भएको जनाएको छ । बोर्डले जारी गरेको सूचनामा भारतबाहिरबाट भारतभर बिक्रीका लागि आउने चियालाई भन्सारले आफ्नो जोखिम व्यवस्थापन अनुसार जाँच गर्ने, घरेलु बिक्रीका लागि आउने चियालाई अहिलेका लागि निर्देशन नआउन्जेल परीक्षण नगर्ने र प्रयोगशाला परीक्षणमा नमुना प्राप्त गरेको मितिदेखि पाँच दिनभित्र प्रतिवेदन दिने सूचनामा उल्लेख छ ।
नेपालमा भने चिया निर्यात हुने नाका झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालय र नेपाली चिया व्यवसायीलाई आधिकारिक जानकारी आएको छैन । निकासीमा कडाइ गरिएको सूचना भारतको पानीट्याङ्कीस्थित कस्टमबाट आए पनि यस पटक कुनै जानकारी नआएको भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमगाईंले बताउनुभयो । पटक पटक निकासीको समस्या झेल्दै आएका नेपाली उद्योगी र किसानले भने तत्काल तयारी चिया भारत निकासी नगर्ने भएका छन् । देशभरको उद्योगी आबद्ध रहेको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले आउँदो सोमबारसम्म आफ्नो उत्पादन नपठाउने जनाएको छ । केही दिनअघि मात्र चिया उद्योगीको टोली चिया निकासी सहज बनाउन सरकारलाई आग्रह गर्दै काठमाडौँसम्म पुगेको थियो ।
त्यसबेला प्रधानमन्त्रीदेखि अन्य मन्त्री र मन्त्रालयको ध्यानाकर्षण गरिए पनि ठोस निकास भने अझै नआएको महासचिव कट्टेलको भनाइ छ । कुल नेपाली चिया उत्पादनको ८० प्रतिशत निर्यात हुने देश भारत नै हो । भारतबाट पटक पटक हुने कडाइलाई सहज बनाउन नेपाल सरकार, उद्योगी र किसान आफैँ पनि लाग्नुपर्ने इलामको सूर्योदय नगरपालिकाका निवर्तमान प्रमुख रणबहादुर राईको धारणा छ । चियाका लागि सरकारी लगानी, निगरानी सबै फितलो भएका कारण भारतीय अवरोध साना किसानले खेप्नु परेको उहाँको बुझाइ छ । फस्टफ्लसको चिया समयमा बिक्री नहुँदा त्यसको असर अब पानी पर्ने सिजनको चियामा पर्ने राईले बताउनुभयो । चालु आव २०८२र८३ को चैत मसान्तसम्म दुई अर्ब ५८ करोड ८५ लाख रुपियाँ बराबरको चिया निकासी भएको मेची भन्सार कार्यालयको तथ्याङ्क छ । जस अनुसार यो समयमा ९९ लाख ४९ हजार ७९४ किलो चिया निर्यात भएको छ ।


