इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापनापछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिकामा निर्माण गरिएको लौकही सिटीहल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता र आदर्श अनुरूपका काम साकार बनाउन स्थानीय तहले सदैव क्रियाशील हुनुपर्ने बताउनुभएको हो ।

उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकास कार्य तीव्र बनाउन आग्रह गर्नुभयो । उहाँले शान्ति, विकास र सुशासनको माध्यमबाटै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुने प्रस्ट पार्नुभयो । उहाँले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्य सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको स्मरण गराउनुभयो । राष्ट्रपति पौडेलले सप्तकोशी नदीको किनारमा रहेको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण ठाउँ भएको बताउनुभयो ।

उहाँले कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकाले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहास स्मरण गर्नुभयो । राष्ट्रपति पौडेलले २०६५ मा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको ठाउँमा बस्ती पुनस्र्थापित भएकोप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले तिनै तहको सरकारको हातेमालोबाट बाढीपीडित जोखिमयुक्त क्षेत्रमा विपत् व्यवस्थापनका पूर्वतयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पु¥याउने अपेक्षा आफूले राखेको बताउनुभयो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिटीहल निर्माणपछि ठुला कार्यक्रम आयोजना गर्न सहज हुने बताउनुभयो ।

उहाँले लौकही सिटीहललाई आवश्यकता र प्रदेशकै गहनाका रूपमा लिइएको प्रस्ट पार्नुभयो । उहाँले सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको सहयोगमा निर्माण सम्पन्न भएको दुई वर्षपछि उद्घाटन भएको बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य ई। दीपककुमार साह, प्रदेश सभा सदस्य सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले सिटीहल सही ढङ्गले प्रयोग गर्नुपर्ने बताउनुभयो । लौकही सिटीहल सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारमा निर्माण गरिएको एक आधुनिक तथा बहुउपयोगी सभाहल हो । सङ्घीय सरकारको २८ करोड रुपियाँ लागतमा निर्मित, नौ सय जना क्षमता रहेको सिटीहल तत्काल प्रयोगमा ल्याइने छ ।