इटहरी । इन्द्रमणि पराजुली ले स्विस एम्बेसीका प्रतिनिधिहरूसँग भेटघाट गर्दै कोशी प्रदेशमा सञ्चालन भइरहेको प्रदेश सहयोग कार्यक्रम (पि एस पि) दुई वर्षका लागि थपिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सञ्चालन भइरहेको उक्त परियोजनाबारे भएको छलफलमा आगामी दुई वर्षको अवधिमा आपत्कालीन सेवा, सडक सुरक्षा, सुशासन तथा आर्थिक विकासका क्षेत्रमा केन्द्रित भएर कार्यक्रम अगाडि बढाउने विषयमा विशेष छलफल भएको थियो । मन्त्री पराजुलीले प्रदेश सरकार विकास साझेदारीका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँनुभयो । उहाँका अनुसार आपत्कालीन सेवालाई अगाडि बढाउन प्रदेश सरकार लागत साझेदारीका लागि तयार रहेको छ ।
उहाँले मोरङको रङ्गेली र झापाको अर्जुनधारामा बन्दै गरेका आपत्कालीन सेवा केन्द्र यसै वर्ष शुभारम्भ गर्ने तयारी भइरहेको जानकारी दिँदै अन्य जिल्लामा समेत यस्ता सेवा विस्तार गरिने बताउनुभयो । साथै कोशी प्रदेशका पहाडी जिल्लाहरू अत्यन्त सम्भावना बोकेका क्षेत्र भएकाले सहकार्य मार्फत आर्थिक विकासमा टेवा पु¥याउन सकिने धारणा राख्नुभयो । भेटघाटमा स्विस एम्बेसीका प्रतिनिधि नमित वाग्ले र सुशील श्रेष्ठसहितको टोली सहभागी रहेको थियो ।
टोलीले धनकुटामा सञ्चालन भइरहेको फोहोरमैला व्यवस्थापन कार्यलाई स्रोत केन्द्रका रूपमा विकास गर्न सकारात्मक रहेको बताएका छन । छलफलमा सडक सुरक्षा, सुशासन प्रवद्र्धन, आपत्कालीन सेवा विस्तार तथा स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो ।


