इटहरी। पाँचथर कारागार र प्रहरी हिरासतको अनुगमन गरिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरका मुख्य न्यायाधिवक्ता, उप–न्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ताको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरसहित जिल्ला प्रहरी कार्यालय पाँचथरमा कैदी राख्ने स्थलको निरिक्षण र अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा टोलीले हिरासत कक्षको भौतिक अवस्था, थुनुवालाई उपलब्ध गराइँदै आएको सेवा–सुविधा, सुरक्षा व्यवस्थापन तथा मानव अधिकार सम्बन्धी जानकारी लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक अनिष कुमार कर्णले बताउनुभयो । यसैगरी न्यायिक हिरासतमा रहेका थुनुवासँग प्रत्यक्ष छलफल समेत गरिएको थियो । छलफलमा थुनुवाको स्वास्थ्य अवस्था, कानुनी पहुँच, दैनिक व्यवस्थापन तथा हिरासतसम्बन्धी अन्य विषयमा जानकारी लिइएको बताइएको छ । टोलीले हिरासत व्यवस्थापनलाई कानुनी मापदण्डअनुसार थप प्रभावकारी, सुरक्षित र मानवअधिकार मैत्री बनाउन आवश्यक सुझाव समेत दिएको पाँचथर प्रहरीले जनाएको छ ।


