इटहरी । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय विराटनगर, मोरङको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ, वाणिज्य महासंघ पथरी शनिश्चरे नगर कार्य समितिको समन्वयमा उद्योग, वाणिज्य दर्ता तथा नियमन सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

“औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने नाराका साथ पथरी उद्योग वाणिज्य सङ्घको नवनिर्मित सभा हलमा सम्पन्न कार्यक्रममा नगरभित्र साना तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नेपाल सरकारले घरेलु तथा साना उद्योग सञ्चालनका लागि ल्याएका नवीनतम नीति, नियम तथा नियमन सम्बन्धी जानकारी सहभागीहरूलाई प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका कार्यालय सहयोगी शंकर कार्की लगायतले उद्योग सञ्चालन, दर्ता, नियमन तथा सरकारी नीतिसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। पथरी शनिश्चरे नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्यता तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख अधिकृत भवानी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घ मोरङका उपाध्यक्ष तुलसी ढकाल, पथरी शनिश्चरे उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, घरेलु तथा साना उद्योग सङ्घ पथरी शनिश्चरेका अध्यक्ष गुरुराज दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।