इटहरी । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।
बिहिवार विराटनगर स्थित वीरेन्द्र सभागृहमा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १२८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख खापुङलाई नीति तथा कार्यक्रम सम्बोधनका लागि हस्तान्तरण गर्नुभएको थियो ।
स्वच्छ, सुखि र समुन्नत प्रदेश भन्ने नारा सहित कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सेवाप्रवाहलाई चुस्त, जिम्मेवार र जवाफदेही बनाउने देखि प्रदेश प्रतिको आस्था र विश्वास बढाउन काम र व्यवहार परिवर्तन गर्ने नीति राखिएको छ । विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिदै ल्याइएको नीति तथा कार्यक्रममा बसाई सराई न्यूनिकरण, जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक र्पूवाधार निर्माण जस्ता कार्यक्रम थप गरिएको कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभयो ।
यसैगरी २०८३ साउन देखि २०८५ असार सम्मलाई कोशी प्रदेश भ्रमण वर्ष मनाइने, धार्मिक परिपथको सम्भाव्यता अध्ययन जस्ता नयाँ कार्यक्रम पनि समेटिएको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभयो । एकल बिन्दु सेवाप्रवाह प्रणाली, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, म अघि बढ्छु, कोशी जनता आवास कार्यक्रम, एक घर एक धारा जस्ता कार्यक्रमहरु समावेश गरिएका नीति तथा कार्यक्रममा राजस्व चुहावट नियन्त्रण गर्दै चालू खर्चलाई मितव्ययी र पारदर्शी बनाइने उल्लेख गरिएको छ ।


