इटहरी । कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको इटहरीमा रहेको ’क्यूएफएक्स सिनेफ्लेक्स’ नयाँ व्यवस्थापन, आकर्षक सजावट र उच्च गुणस्तरका साथ औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । 

करिब १४ महिना अघिको आगलागीपछि आवश्यक मर्मत, प्रविधिगत स्तरोन्नति र केही महिनाको परीक्षण प्रसारण पश्चात चलचित्र ’मितज्यू’को प्रिमियर शो सँगै हलको औपचारिक ’री–ओपनिङ’ गरिएको हो । जेठ ७ गते आयोजित उक्त विशेष प्रिमियर समारोहमा सुनसरीका चलचित्र पत्रकारहरू, स्थानीय पाहुनाहरूका साथै क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धर, मार्केटिङ म्यानेजर शशिम शाक्य र इटहरी ब्रान्च म्यानेजर अस्मिता गुरागाईं लगायतको उपस्थिति रहेको थियो ।

विज्ञप्ति अनुसार दर्शकलाई विश्वस्तरीय अनुभव दिन हलमा अत्याधुनिक टुके डिजिटल प्रोजेक्टर, प्रिमियम साउन्ड सिस्टम र सहजताका लागि लिफ्टको सुविधा रहेको छ । त्यस्तै, ग्राहकका लागि विशेष डिजिटल लोयल्टी अफर ल्याइएको छ, जसको पोइन्ट एप मार्फत देशैभर टिकट र खाजा किन्न प्रयोग गर्न सकिनेछ । दर्शकको गुनासोलाई ध्यानमा राख्दै चाँडै नै छुट्टै र व्यवस्थित पार्किङको समेत तयारी भइरहेको छ । 

परिमार्जित स्वरूप र उत्कृष्ट प्रविधि सहित सञ्चालनमा आएको यस सिनेमा हलले यस क्षेत्रका चलचित्र प्रेमीहरूलाई उत्कृष्ट र आधुनिक मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ ।