इटहरी । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ ।

भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा चिया र सुपारीको व्यावसायिक खेती एकसाथ अघि बढाएको हो ।  चिया र सुपारीको पर्यावरणीय आवश्यकताअनुरुप जलवायु र माटो एकअर्कासँग निकै मिल्दोजुल्दो भएकाले मिश्रित खेती सुरु गरिएको इस्टेटका सञ्चालक भक्ति अधिकारीले जानकारी दिए ।

झापामा कुनै व्यावसायिक कम्पनीले संस्थागत रूपमै अन्तरबालीका रूपमा यी दुवै बालीको खेती एकसाथ गरेको यो पहिलोपटक हो ।उक्त बगानमा करिब एक दशकअघि नै चियाका बिरुवा रोपेर उत्पादन लिन थालिएको थियो भने सुपारीका बिरुवा तीन वर्षअघि मात्र थपिएको हो । हाल ६० बिगाहा क्षेत्रफलमा ६० हजार सुपारीका बोटहरू हुर्किरहेका छन् । चियाले लगातार उत्पादन दिइरहेको भन्दै उनले सुपारीले भने अबको चार वर्षपछि मात्र उत्पादन दिन थाल्ने बताए ।

चिया बगानभित्र सुपारी विस्तारका लागि कम्पनीले रु एक करोड अतिरिक्त लगानी गरिसकेको जनाएको छ । आगामी दिनमा कूल १०२ बिघा चिया बगानमै अन्तरबालीका रूपमा सुपारीखेती विस्तार गर्ने कम्पनीको योजना छ । ऐतिहासिक रूपमा भारतबाटै नेपाल भित्रिएका यी दुवै बालीको मुख्य निर्यात बजार पनि भारत नै हो । हाल नेपालका ३१ जिल्लाको २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चियाखेती फैलिएको छ भने सुपारीखेती मुख्य गरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरी करिब चार हजार हेक्टरमा छ ।

मुलुकको कूल सुपारी उत्पादन र क्षेत्रफलको दुई तिहाइभन्दा बढी हिस्सा झापा जिल्लाले मात्र ओगटेकाले यसलाई ‘सुपारीको राजधानी’ समेत भनिन्छ । जिल्लाको करिब तीन हजार हेक्टरमा सुपारीखेती हुन्छ । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका सुपारी उत्पादनका प्रमुख केन्द्र हुन्, जहाँ रैथाने किसानहरूले परम्परागत रूपमै यसको खेती गर्दै आएका छन् । पछिल्लो समय झापामा छहारी मन पराउने बालीहरू चिया, मरिच, अलैँची र केराको अन्तरबाली लगाएर एउटै जमिनबाट बहुआयामिक लाभ लिने उत्कृष्ट अभ्यास भइरहेको छ ।

मेचीनगर नगरपालिका–४ का अगुवा किसान रवि नेपालले यसअघि नै व्यक्तिगत रूपमा यस्तो मिश्रित खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । व्यावसायिकस्तरमा ठूलो लगानी गरेर चिया र सुपारीको मिश्रित खेती गर्ने जोखिम हडिया रियल टी इस्टेटले पहिलोपटक उठाएको हो । बगानमा सुपारीका बोटहरू क्रमशः हुर्किंदै गएपछि छहारीका लागि पहिले लगाइएका सिरिसलगायतका रुखहरू हटाइएको छ ।

कम्पनीले सुपारीखेतीको छुट्टै हेरचाह, गोडमेल र मलजलका लागि विशेष प्राविधिक तथा श्रमिकसमेत परिचालन गरेको जनाएको छ ।हडिया इस्टेटको यो मिश्रित खेती मोडेल सफल भएमा जिल्लाका अन्य ठूला चिया बगानहरूमा पनि सुपारी खेती विस्तारको नयाँ ढोका खुल्नेछ । यसैको सिको गर्दै मेचीनगर नगरपालिका–१५ स्थित ‘वंशल टी इस्टेट’ले पनि परीक्षणका रूपमा चिया बगानभित्र सुपारीका बिरुवा रोप्न सुरु गरिसकेको छ ।