इटहरी । सरकार एवं प्रधानमन्त्री उत्तरदायी हुनु संवैधानिक दायित्व मात्रै नभएर लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य हो। यतिबेला सरकारको नेतृत्व गरि रहेका प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएको विषय सवैतिर आलोचना बनेको छ।
यही विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमबाट विधिको शासनप्रति जवाफदेही बनाउन सङ्घीय सरकारको ध्यानाकर्षण गराउनेसहित २८ बुँदे निर्णय गर्दै कोशी सङ्कल्प पत्र सार्वजनिक गरेको छ। सङ्कल्प पत्रमा सङ्घीय सरकारलाई विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मानलाई केन्द्रमा राखेर कार्य गर्न ध्यानाकर्षण गराउने उल्लेख छ। सुनसरीको लौकहीमा शुक्रबारदेखि सुरु भएर शनिबार सकिएको प्रशिक्षण कार्यक्रममा नागरिकमुखी जबाफदेही सरकार हुनुपर्ने उल्लेख छ।
संविधान प्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जबाफदेही सरकारको रूपमा थप प्रभावकारी ढङ्गले कार्य गर्नुपर्ने उल्लेख गरिएको छ। कोशी प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वबिचमा भएको संवाद, विषयगत छलफल र विस्तृत अन्तरक्रियाको आधारमा तयार गरिएको सङ्कल्पमा पार्टीका तर्फबाट बनाउने योजना र कार्यान्वयनमा गर्न सक्ने कार्यलाई पनि संकल्पत्रमा समेटिएको छ। जसमा तीन ’स’ को समन्वय संघ, प्रदेश र स्थानीय तहबिच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा कार्य गर्ने पनि पनि संकल्पपत्रमा उल्लेख छ। बजेट वितरण प्रणालीलाई समानुपातिक, न्यायोचित र स्थानीय आवश्यकतामा आधारित ढङ्गले विनियोजन गर्न प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्ने पनि उल्लेख गरिएको छ।
कोशी प्रदेश सभाले प्रदेशको नामकरण गरे पश्चात् उत्पन्न प्रतिक्रिया र भावनालाई सर्वपक्षीय सहभागितामा खुला संवाद मार्फत सम्बोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ। प्रदेश सरकारको संरचनात्मक रूपान्तरण र व्यवस्थापकीय सुधार गर्न अनावश्यक संरचना खारेज वा समायोजन गरी स्थानीय सरकारबाट गर्न सकिने कार्य स्थानीय सरकारसँगको साझेदारीमार्फत गर्ने पनि संकल्पपत्रमा उल्लेख छ। संकल्पत्रमा घरमै सेवा पुर्याउने ‘घर–आँगन सेवा’ लाई प्रभावकारी बनाउनुपर्ने उल्लेख छ। जन्मदर्ता, मृत्युदर्ता, स्वास्थ्य बीमा दर्ता र नवीकरण लगायतका सेवा ‘अनलाइन वा आँगनबाट’ उल्लेख छ।
साथै, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोग भएका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी लगायतलाई आधारभूत स्वास्थ्य जाँच घरआँगनमै गर्ने ’घरदलान सेवा’ लाई प्रभावकारी ढङ्गले अगाडि बढाउने सङ्कल्प गरिएको छ। वित्तीय अनुशासनका लागि सबै स्थानीय सरकारले असार १० भित्र अनिवार्य बजेट पेश गर्ने र योजना तर्जुमाका सातै चरण पालना गर्ने भेलामा सङ्कल्प गरिएको छ। ‘शून्य बेरुजु स्थानीय तह’ निर्माणका लागि विशेष अग्रसरता लिने र खर्चको मापदण्ड कडाइका साथ पालना गर्ने उल्लेख छ। संकल्पत्रमा योजना बैङ्कमार्फत मात्र योजना तर्जुमा गर्ने उल्लेख गरिएको छ। तोकिएका योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने उल्लेख गरिएको छ।
अनुत्पादक क्षेत्रमा लगानी नगर्ने कुरामा दृढ रहने, तीन तहको सरकारबीच योजना बैंकमा तादात्म्यता ल्याउन र सो को अनिवार्य पालना गर्न प्रदेश सरकार र सङ्घीय सरकारलाई आग्रह गर्ने उल्लेख गरिएको छ। स्थानीय कच्चा पदार्थमा आधारित उद्योग र युवालक्षित नवप्रवर्द्धनलाई करमा विशेष सहुलियत दिने संकल्पपत्रमा समेटिएको छ। अलैंची, चिया, अदुवा, एभोकाडो, कागती, स्याउ, अम्बा जस्ता नगदे बालीका लागि एकीकृत कृषि जोन स्थापना गर्ने पत्रमा उल्लेख गरिएको छ। किसानको उत्पादन सिधै उपभोक्तासम्म पुर्याउन उपज सङ्कलन केन्द्र र कृषि एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख गरिएको छ। भेलापछि सार्वजनिक गरिएको संकल्पत्रमा महिलाको परम्परागत सीपलाई उद्यममा बदल्न ‘उद्यमी आमा’ कार्यक्रम सञ्चालन गर्ने र विराटनगर(इटहरी औद्योगिक कोरिडोर क्षेत्रलाई विशेष आर्थिक क्षेत्रको रूपमा पूर्ण क्षमतामा सञ्चालन गरी औद्योगिक पुनरुत्थान गर्ने जनाइएको छ। आध्यात्मिक पर्यटन पथका निम्ति वराहक्षेत्र, पाथीभरा र हलेसी जस्ता धामहरूलाई जोडेर विकास गर्ने संकल्पत्रमा उल्लेख छ। साहसिक तथा खेल पर्यटनस् जल पर्यटन, सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमालको क्षेत्रमा हिमाल आरोहण जस्ता साहसिक पर्यटन र कोशीका युवाको खेलकुदको प्रतिभालाई मध्यनजर गर्दै खेलकुदका पूर्वाधारहरू निर्माण गर्ने पनि समेटिएको छ।
स्वास्थ्य बीमा कार्यक्रममा सबै नागरिकलाई आबद्ध गर्न, ‘सबैलाई स्वास्थ्य बीमा–विपन्नको साथमा स्थानीय सरकार’ भन्ने मान्यताका साथ बीमा प्रभावकारी बनाउन आफ्नो स्थानीय तहमा सचेतना र अग्रसरता लिँदै ‘बीमा ब्रान्डिङ्’ गर्ने उल्लेख गरिएको छ। यस्तै, गर्भावस्थादेखि नै सरकारको साथ रहने गरी ‘कोखदेखि शोकसम्म’ एकीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सुदृढ गर्दै कोशी प्रदेशमा विशेषज्ञ र विशिष्टीकृत सेवा केन्द्र बनाउन पहलकदमी लिने संकल्पत्रमा समेटिएको छ। विद्यालय नर्स, समुदायमा नर्स, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, म स्वस्थ मेरो समुदाय स्वस्थ अभियान, नागरिकको डिजिटल हेल्थ प्रोफाइल, पोषण, नसर्ने रोग स्क्रिनिङ, मानसिक स्वास्थ्य परामर्श, जनस्वास्थ्य मेला जस्ता असल अवधारणा र अभ्यासलाई थप व्यवस्थित बनाउने सङ्कल्प गरिएको छ। व्यापारिक र रणनीतिक महत्वको कोशी राजमार्ग ९जोगबनी–किमाथाङ्का० लाई चाँडो सम्पन्न गरी उत्तर–दक्षिण जोड्न आवश्यक पहल गर्दै विराटनगर विमानस्थललाई यथाशीघ्र क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्न पहल गर्ने उल्लेख छ। यस्तै, सडक, बिजुली र इन्टरनेट जस्ता कनेक्टिभिटीका पुर्वाधारहरुलाई मानिसको जीवनस्तर उन्नयनसँग जोड्ने र कोशी नदीमा आन्तरिक जलमार्ग सञ्चालनको अध्ययन गरी पारवहनसँग जोड्ने उल्लेख छ।भूमिहीन दलित र सुकुम्वासीलाई सामाजिक न्याय र समावेशीकरणको सिद्धान्त बमोजिम सुरक्षित स्थानमा सम्मानजनक पुनर्स्थापना गरी ‘सुकुम्वासी मुक्त स्थानीय तह’ बनाउने उल्लेख छ।
कोशीका लोपोन्मुख र सीमान्तकृत समुदायको भाषा–संस्कृति र परम्परागत पेसाको संरक्षण गर्ने र विभेदमुक्त समाजका लागि जातीय छुवाछूत, बाल श्रम र लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक रूपान्तरणका विशेष कार्यक्रमहरु सञ्चालन गरिने संकल्पपत्रमा उल्लेख छ। विदेशबाट फर्किएकाहरूको सीपलाई ‘श्रमदेखि उद्यमसम्म’ जोड्न जन्मभूमि समुन्नतिस् विशेष अभियान चलाइने उल्लेख गरिएको छ। यस्तै, बाढी, पहिरो र भू–क्षय नियन्त्रणका लागि पूर्व सूचना प्रणाली र युवा उद्धारकर्ताको टोली तयार गर्दै विपद् उत्थानशील समुदायको विकास गर्ने समेटिएको छ। वन्यजन्तुका प्राकृतिक वासस्थान र पर्यावरण संरक्षण गर्दै जङ्गली जनावर नियन्त्रण र नियमनको लागि पहल गरिने भएको छ। नीलगाई, हात्ती, बाँदर, बँदेल लगायतका कृषि हानिकारक जङ्गली जनावर नियन्त्रण र नियमनको लागि पहल गर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आवश्यक कानुनी र संरचनागत प्रबन्ध गर्न सङ्घीय सरकारलाई आग्रह गर्ने समेटिएको छ। कोशी प्रदेशस्तरीय भेलाको शुक्रबार नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले उद्घाटन गरेका थिए।


