इटहरी । भोजपुर र खोटाङको संगमस्थलका रूपमा रहेको प्रसिद्ध पर्यटकीय क्षेत्र टेम्के डाँडा जोड्ने सडक खण्डको स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढेको छ ।

टेम्केमैयुङ गाउँपालिकाको चखेवा भन्ज्याङदेखि  वेसक्याम्प सम्मको सडक खण्डमा हाल ग्राभेलिङ तथा आरसीसी ढलानको काम भइरहेको छ। वर्षायाममा हुन सक्ने हिलो र सडक अवरोधको समस्यालाई मध्यनजर गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको निर्माण व्यवसायी एवं हुमादेवी कन्स्ट्रक्सनका सञ्चालक रुपन राईले जानकारी दिनुभयो।

सडक निर्माण तथा ढलानको कार्य भइरहेकाले निर्माण कार्यमा बाधा नपुगोस र सम्भावित जोखिम नहोस भनी भौतिक पूर्वाधार विकास कार्यालयले उक्त सडक खण्डमा सवारी साधन गुडाउन पूर्ण रूपमा निषेध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै टेम्के डाँडा घुम्न जाने पर्यटकहरूलाई आफ्ना सवारी साधनहरू वेसक्याम्प (आधार शिविर) मै सुरक्षित रूपमा राख्न र त्यहाँबाट अगाडिको यात्राका लागि पुरानो पैदल मार्ग (पदमार्ग)८ प्रयोग गर्न अनुरोध गरेको छ ।

सडकको स्तरोन्नति भइरहेकाले पर्यटकहरूको सुरक्षा र निर्माणको सहजताका लागि सवारी साधन रोकिएको हो। पर्यटकहरूले वेसक्याम्पमा गाडी राखेर पुरानो पदमार्ग हुँदै पैदल यात्रा गर्दा निर्माण कार्य पनि समयमै सम्पन्न हुने निर्माण व्यवसायी राईले बताउनु भयो ।

सडक स्तरोन्नतिको यो कार्य सम्पन्न भएसँगै आगामी दिनमा टेम्के डाँडा पुग्ने पर्यटकका लागि यात्रा थप सहज र सुरक्षित हुने विश्वास लिइएको छ ।