इटहरी । शर्वेश्वर भजन कीर्तन मण्डली, इटहरी–७ को आयोजनामा जेष्ठ नागरिक तथा कीर्तन समूहका सदस्यहरूको सहभागितामा एकदिने धार्मिक तीर्थयात्रा सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य नेत्र प्रसाद गुरागाईंको विशेष सहभागिता रहेको उक्त यात्रामा ४५ जना श्रद्धालुहरू सहभागी थिए । टोलीले सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र मन्दिर, गुप्त बराह र चतरा धामको दर्शन गरेको थियो। यात्राका क्रममा भक्तजनहरूले कोका कौसी र कोशी नदीको संगममा पवित्र स्नान गरी पूजा–आराधना गर्नुका साथै गुप्त बराहमा सञ्चालित एक महिने मलमास कथा श्रवण गरेका थिए ।

त्यस अवसरमा मण्डलीका तर्फबाट र स्थानीय जेष्ठ नागरिकहरू त्रिलोचन गुरागाईं, विष्णुमाया गुरागाईं, कुलबहादुर अधिकारी, बाटुला अधिकारी, लालबहादुर कटुवाल तथा आम्ब कुमारी कटुवालले व्यक्तिगत रूपमा त्यहाँ निर्माणाधीन सिँढीका लागि आर्थिक सहयोग समेत हस्तान्तरण गर्नुभयो।

मण्डलीका अध्यक्ष महेश गुरागाईंले यस्ता यात्राले जेष्ठ नागरिकमा आध्यात्मिक ऊर्जा र सामाजिक एकता बढाउने बताउनुभयो भने वडा सदस्य गुरागाईंले जेष्ठ नागरिकको सम्मान र धार्मिक आस्था प्रवद्र्धन गर्ने यस्ता कार्यमा स्थानीय तहले सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।