इटहरी। धनकुटाको पाख्रिबास नगरपालिका–३ अन्तर्गत रहेको जौटार सामुदायिक वन पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यो क्षेत्र वडा नं. २, ३ र ४ को सीमाक्षेत्रमा पर्दछ । कच्ची तथा हिलाम्मे सडकको स्तरोन्नतिसँगै सवारी आवागमन सहज बनेको छ । ग्रामीण सडकमा ढुङ्गा सोलिङ गर्नुका साथै खाल्डाखुल्डी पुरिएपछि यात्रा सहज भएको छ । साथै जौटार पार्कको जीर्णोद्धार, खानेपानी व्यवस्थापन तथा सडक मर्मतपछि पर्यटकको आगमन बढेको स्थानीय लक्ष्मी मगरले बताउनुभयो । उहाँका अनुसार यहाँको चिसो मौसम, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले पर्यटकको मन जित्ने गरेको छ । पार्कबाट रमणीय दृश्यावलोकनसँगै आकर्षक हिमश्रृंखला नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । पाख्रिबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले वनभोज तथा घुमफिरका लागि दैनिक सयौँको सङ्ख्यामा मानिस आउने गरेको बताउनुभयो । यहाँ आउने अधिकांश पर्यटकले पार्कमा बसेर तस्बिर तथा भिडियो खिच्ने, टिकटक बनाउने तथा मनोरञ्जन गर्ने गरेका छन् । यस क्षेत्रका अधिकांश स्थानीयवासी कृषि पेशामा संलग्न छन् । अत्यधिक मात्रामा अर्गानिक आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जौटारमा आउनेहरूले ताजा तरकारीसमेत खरिद गरेर लैजाने गरेका छन् । डिभिजन वन कार्यालय धनकुटामार्फत सञ्चालनमा रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका फूल फुलेका छन् । साथै पदमचाल, चिराइतो, पाखनवेत, ठूलो ओखती, बोझो, चुथ्रो र कपूरलगायतका बहुमूल्य जडीबुटी पाइने भएकाले यो क्षेत्र शैक्षिक अध्ययनको केन्द्रसमेत बन्दै गएको छ । विद्यार्थीहरू जडीबुटीसम्बन्धी जानकारी लिन तथा अध्ययन–अवलोकनका लागि यहाँ आउने गरेका छन् ।

