सृजना ठाकुर 

इटहरी । कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौनजन्य दुव्र्यवहार, र एचआईभी÷एड्सको जोखिम न्यूनीकरणका लागि इटहरीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

महिला सहयोगी समूह इटहरीको आयोजना तथा टेवा संस्थाको सहकार्यमा आयोजित उक्त सचेतना कार्यक्रममा करिब १५ जना महिला सहभागिता रहेको थियो । कार्यक्रममा विशेष गरी होटल, क्याबिन र रेस्टुरेन्ट जस्ता अनौपचारिक क्षेत्रमा काम गर्दा हुन सक्ने सम्भावित हिंसा, दुव्र्यवहार, शारीरिक तथा मानसिक तनाव र त्यसका असरहरूबारे विस्तृत जानकारी गराउँदै कानुनी उपचार र बच्ने उपायहरू सिकाइएको थियो।

कार्यक्रममा विज्ञ तथा अभियन्ताहरूले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१, मुलुकी अपराध संहिता २०७४, र श्रम ऐन २०७४ का कानुनी प्रावधानबारे जानकारी गराएका थिए।

2

कार्यस्थल वा सार्वजनिक स्थलमा हिंसा र दुव्र्यवहार भएमा नलुकाई १ वर्षभित्रै प्रहरी, स्थानीय न्यायिक समिति वा राष्ट्रिय महिला आयोगमा उजुरी दिन सकिने र यस्तो अपराध गर्नेलाई कैद तथा जरिवाना हुने कानुनी व्यवस्थाबारे सहभागीहरूलाई सचेत गराइएको थियो । संस्थाकी कार्यकारी निर्देशक विमला मल्ल ठकुरीले दातृ निकायहरूको फण्ड कटौती र बजारमा कन्डमको हाहाकार हुँदा स्वास्थ्य सुरक्षामा चुनौती थपिएको बताउनुभयो।

यस्तो संकटमा पनि संस्थाले आफ्नै पहलमा सचेतना र यौन रोग जाँचलाई निरन्तरता दिएको उहाँको भनाइ थियो। कार्यक्रममा सुरक्षित यौन व्यवहार, एचआईभी संक्रमणबाट बच्ने उपाय र वैदेशिक रोजगारी वा कार्यस्थलमा हिंसा भोगेका महिलाहरूलाई समाजमा पुनः स्थापित हुन र आफ्नो अधिकारका लागि लड्न प्रोत्साहन समेत गरिएको थियो।