इटहरी । सुनसरी (आई.टि.एफ.) तेक्वान्दो संघको आयोजना, द शान्तिनगर युथ क्लबको सह–आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नं. २ को समन्वयमा “प्रथम जुनियर इटहरी नगरस्तरीय आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता–२०८३” बुढासुब्बा खेल मैदानमा सम्पन्न भएको छ ।
प्रतियोगितामा महर्षी इङ्लिस स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ । महर्षीले १३ गोल्ड, ५ सिल्भर र १ ब्राउन्ज पदक हात पार्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। त्यसैगरी, प्याराडाइज इङ्लिस स्कुल ११ गोल्ड, ६ सिल्भर र ३ ब्राउन्ज पदक सहित दोस्रो स्थानमा रह्यो भने एप्पल ट्रि मन्टेश्वरी ९ सिल्भर र ४ ब्राउन्ज पदक सहित तेस्रो स्थान हासिल गर्न सफल भयो। व्यक्तिगततर्फ महर्षीका कुशल तामाङ उत्कृष्ट पुरुष र प्याराडाइजकी भूमिका राई उत्कृष्ट महिला खेलाडी घोषित भए । कार्यक्रमका प्रमुख अतिथि इटहरी–२ का वडाध्यक्ष माधव कोइरालाले खेलकुदले स्थानीय प्रतिभा पहिचान र विकासमा टेवा पु¥याउने बताउनुभयो ।
त्यस्तै, आई.टि.एफ. तेक्वान्दो संघ मोरङका अध्यक्ष चतुरलाल चौधरीले तेक्वान्दोले अनुशासन र आत्मविश्वास सिकाउने उल्लेख गर्नुभयो । शान्तीनगर सामुदायिक वनकी अध्यक्ष गंगा गुरुङले बालबालिकाहरूलाई खेलकुदतर्फ आकर्षित गराउनु आजको आवश्यकता रहेको बताउनुभयो। तालतलैया विकास समितिका अध्यक्ष गंगा बहादुर रायले युवा वर्गलाई कुलत र दुव्र्यसनको दलदलबाट टाढा राख्न खेलकुद क्षेत्रले एउटा बलियो पर्खालको रूपमा काम गर्ने उल्लेख गर्नुभयो। यसैगरी, एप्पल ट्रि मन्टेश्वरीका प्रबन्ध निर्देशक सन्तोष कट्वालले शिक्षासँगै खेलकुदको समन्वय हुनुपर्ने धारणा राख्नुभयो।
विद्यार्थीको शारीरिक, मानसिक तथा सर्वाङ्गीण विकासका लागि विद्यालय तहदेखि नै खेलकुदलाई अनिवार्य र प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा खेलकुद क्षेत्रको विकास र स्थानीय स्तरमा खेल गतिविधि प्रवद्र्धन गर्ने विषयमा अन्य वक्ताहरूले समेत आ–आफ्नो धारणा राखेका थिए ।


