इटहरी । इन्द्रपुर समस्त भजन संजालको आयोजना तथा स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाको सहयोगमा आठ दिने विशेष तालिम सुरु भएको छ।

सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित ज्येष्ठ नागरिक सभाहलमा जेठ ११ गतेदेखि ’उद्घोषण, निर्णयपुस्तिका अभिलेखीकरण, लेखा व्यवस्थापन एवं क्षमता अभिवृद्धि तालिम’ सुरु भएको हो। स्थानीय धार्मिक तथा सामाजिक संघ–संस्थाका पदाधिकारी एवं सदस्यहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजित उक्त तालिमको उद्घाटन संजालकी अध्यक्ष गीता लम्साल गौतमको अध्यक्षता र शिवप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष गौतमले धार्मिक तथा सामाजिक संस्थाहरूलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यस्ता तालिमहरू अपरिहार्य रहेको बताइउनुभयो । यस्तै, प्रमुख अतिथि दाहालले संस्थाको विश्वसनीयता कायम राख्न आर्थिक अभिलेखको सही संरक्षण र निर्णयपुस्तिका व्यवस्थापन महत्वपूर्ण हुने उल्लेख गर्दै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

तालिममा प्रशिक्षक एवं संजालका सचिव परमात्मा ओझाले उद्घोषण कला, निर्णयपुस्तिका लेखन र संस्थागत क्षमता विकासका प्राविधिक एवं व्यवहारिक पक्षमा प्रशिक्षण दिइरहनुभएको छ । विभिन्न संघ–संस्थाका ३२ जना प्रतिनिधिको सहभागिता रहेको यो तालिम आगामी जेठ १८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।