इटहरी। उदयपुरको कटारी नगरपालिका वडा नं.२ गिद्धबर स्थित भित्री सडक खण्डमा गुडिरहेको स्कुल बसबाट खसेर सोही बसका सहचालकको मृत्यु भएको छ। सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको बसबाट खस्दा सहचालकको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यार्थी लिनका लागि कटारी नगरपालिका वडा नं.१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा अचानक बसको ढोकाबाट खस्दा कटारी नगरपालिका–२ बस्ने ३१ वर्षीय सहचालक उत्तम थापाको मृत्यु भएको हो। गुडिरहेको बसबाट अचानक सडकमा खसेका थापाको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो। दुर्घटनालगत्तै उहाँलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। इलाका प्रहरी कार्यालय कटारीले बस र बस चालक कटारी नगरपालिका वडा नं. २ बस्ने ४८ वर्षीय छत्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। मृतक थापाको शवको आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरी शव परीक्षण(पोस्टमार्टम)का लागि प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

