इटहरी। धनकुटामा आइतबारदेखि सुरु भएको १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा मङ्गलबार आयोजक टोली सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटा र भारतको जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आज दुई टोली आमनेसामने हुन लागेका हुन् । सोमबार भएको दोस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै झापा विजयी भएको थियो । त्यसअघि आइतबार भएको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, सुनसरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सलहेश युवा क्लब, सिराहा विजयी भएको थियो । प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपियाँ तथा उपविजेता टोलीले ३ लाख रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ६ हजार रुपियाँ प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटाले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । वि.सं.२०५५ सालदेखि सुरु भएको प्रतियोगिता केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हो । तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरेको थियो ।


