इटहरी । होली त्यसपछि चुनाव अनि स्थानीयको अवरुद्धका कारण स्थगित रहेको मोरङको पथरी शनिश्चरे–१ को बजार खण्डको सडक विस्तारको काम सुचारु भएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार योजना कार्यालय इटहरी, स्थानीय सरोकारवाला उपभोक्ता र निर्माण कम्पनीबिच शनिबार पथरी बजार खण्डको सडक पूर्ण सहरी मापदण्ड अनुसार ५० मिटरको बनाउने लिखित सहमति भएपछि काम सुचारु भएको हो ।

एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भइरहेको महेन्द्र राजमार्ग निर्माण गर्नुअघि सरकार, दातृ निकाय र स्थानीय सरोकारवालाबिच ग्रामीण तथा जङ्गल क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने सहमति भएको थियो । त्यसबेला पथरी बजार क्षेत्रलाई अर्धसहरी क्षेत्र मानेर सडकको डिपिआर बनेको थियो तर छिमेकी उर्लाबारी नगरपालिकाको बजार क्षेत्र ५० मिटरमा छ लेन सडकसहित फुटपाथ र नाला बन्ने भएपछि पथरी शनिश्चरे–१ बजारवासीले सडक ५० मिटर नबने काम रोक्ने चेतावनी दिएका थिए ।

नगरप्रमुख मोहनप्रसाद तुम्बापोले नै सहमति नभई काम अघि नबढाउन आग्रह गरेपछि काम रोकिएको थियो । सडक उपभोक्तासमेत रहेका सङ्घर्ष समितिका सदस्य राजेन्द्र भण्डारीले भन्नुभयो, “सर्भिस लेन (फुटपाथ)नहुँदा राजमार्ग दक्षिणका बासिन्दाले मलामी जाँदा र उत्तरका बासिन्दाले नगरपालिका जाँदासमेत राष्ट्रिय राजमार्ग प्रयोग गर्नुपर्ने भएको छ । नगरपालिका प्रवेश गर्ने स्थान र घाट जाने स्थानमा व्रmसिङ थिएन । त्यसैले हामीले उपभोक्ताको सहमतिमा सडक निर्माण गर्न आग्रह गरेका हौँ । वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईले सडक ५० मिटरको चौडाइमा विस्तार गर्दा सडकको ‘राइट अफ वे’ मा ८२ वटा घरटहरा पर्ने जानकारी दिनुभयो ।

राईका अनुसार घरटहरामा एक फिटदेखि नौ फिटसम्म क्षति हुने देखिएको छ । यसबाहेक खानेपानी उत्तरतर्फ १७ वटा घर रहेको सुकुमवासी बस्ती छ । उहाँले घरटहरा हटाउने वडा र नगरले जिम्मा लिने जानकारी दिनुभयो । धेरै उपभोक्ताले आफ्ना घरटहरा आफैँ हटाइसक्नुभएको वडाध्यक्ष भीमकुमार राईको भनाइ छ । पूर्वपश्चिम राजमार्ग विस्तार योजना )पश्चिम खण्ड) कार्यालय इटहरीका आयोजना प्रमुख जगत प्रजापतिले शनिबार पथरी बजार क्षेत्र ५० मिटरको बनाउने सहमति जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार बजार पूर्वको लाटीहोलीदेखि पश्चिमतर्फ पथरी पुलसम्मको झन्डै सात सय मिटर सडक छ लेन, फुटपाथ र नालासहितको हुने भएको छ । सडकको ‘राइट अफ वे’ नगरपालिकाले क्लियर गरिदिने छ । निर्माण कम्पनीले आइतबारदेखि नै काम सुरु गरिसकेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।