इटहरी । धनकुटा चौबिसे गाउँपालिका–२, मुढेबासस्थित डाँडागाउँमा मगर जातिको सङ्ग्रहालय ओझेलमा परेको छ । पर्याप्त प्रचारप्रसार र सडक पहुँच नभएका कारण सङ्ग्रहालय ओझेलमा परेको हो । सङ्ग्रहालयमा करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटक पुग्ने गरेका छन् । मगर जातिले प्रयोग गर्ने पुराना तथा लोपोन्मुख सामग्री रहेको गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मीमगरले बताउनुभयो । सङ्ग्रहालयसँगै सो स्थानमा होमस्टे सञ्चालन गर्ने तयारी गरे पनि होमस्टे सञ्चालन हुन नसक्दा सङ्ग्रहालय पनि ओझेलमा परेको उहाँको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि चार वर्षपहिले निर्वाचन क्षेत्र पूर्वाधार कार्यव्रmमको १० लाख रुपियाँबाट सुरुवात गरिएको थियो । धनकुटामै सबैभन्दा बढी मगर जातिको बसोबास रहेको मुढेबासमा मगर समुदायको वेशभूषा, भाँडाकुँडा, बाजा, पुराना हातहतियार, काठका सामग्रीलगायत लोपोन्मुख अवस्थाका वस्तु सङ्ग्रहालयमा राखिएका छन् । यता चौबिसे गाउँपालिका सातडाँडा टोलमा निर्माण गरिएको जनजाति सङ्ग्रहालय पनि ओझेलमा परेको छ । विशेष गरेर लिम्बू जातिको संस्कार तथा संस्कृति हेर्न पाइने यो सङ्ग्रहालय २०७५ सालमा निर्माण गरिएको हो । यहाँ लिम्बू, याक्खा, मगरलगायत विभिन्न जातिका संस्कृति झल्किने वस्तुको अवलोकन गर्न सकिन्छ । सङ्ग्रहालय निर्माण गरिए पनि सो क्षेत्रमा पर्यटक नपुग्दा सङ्ग्रहालय ओझेलमा परेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।

