इटहरी । पुवाखोला जलविद्युत् आयोजनाका लागि लगिएको पानी चुहिएर भौतिक पूर्वाधारमा ठुलो क्षति भएको छ । यसै कारण बर्सौंदेखि जमिन नै भासिँदा र बग्दा मेची राजमार्ग अन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा समस्या आएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्रमुख र प्राविधिकसहितको टोलीले आयोजनाका लागि लगिएको ‘पेनस्टक पाइप’ बाट पानी चुहिएको भेट्टाएको हो । पेनस्टक पाइपको करिब डेढ किलोमिटर दुरीसम्म निरीक्षण गर्दा दुई सय मिटर लम्बाइमा धेरै चर्किएको पाइएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । २०७२ सालको भूकम्पपछि त अझ बढी समस्या भएको हो । स्थानीयको भनाइ र गुनासो अनुसार पेनस्टक पाइपभित्र निरीक्षण गरिएको हो । प्रमुख भट्टराईका अनुसार सुरुङको अवस्था यस्तो पाइएपछि हेड ट्याङ्कभित्र पनि बुझ्न त्यहाँ थुप्रिएको माटो बाहिर निकाल्न पानी सुकाइएको छ । त्यहाँ पनि चर्किएको आशङ्का छ ।
सबै प्रयास असफल जस्तै भएपछि विद्युत् आयोजनाका संरचनाको निरीक्षणलाई विकल्पका रूपमा लिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । यस सडकखण्डमा अध्ययन गर्न भूगर्भविद्को टोली र मर्मत गर्नका लागि धेरै स्रोत परिचालन भएको छ । कुनै पनि अध्ययन टोलीले हाइड्रोपावरका लागि लगिएको पानी चुहिएको भने पत्ता लगाएको थिएन । निरीक्षणपछि पुवाखोला जलविद्युत् आयोजना प्रमुखलाई आयोजनाका तर्फबाट तत्काल विज्ञ टोली झिकाएर अध्ययन गर्न र पुनर्निर्माण गर्न भनिएको पनि भट्टराईले जानकारी दिनुभयो ।
यस सडकखण्डमा गत असोज १८ को वर्षापछि पहिरो जाँदा १२ दिनसम्म यातायात बन्द भएको थियो । अहिले पनि माईखोलामाथि निरन्तर पुनर्निर्माणको काम भइरहेको छ । वैकल्पिक सडक सञ्चालन भइनसक्दा र मुख्य सडकमा पनि पूर्ण रूपमा यातायात बन्द गरेर काम गर्न नपाउँदा काम गर्नै ढिलाइ भएको छ । अहिले राजदुवालीमा रहेको माईखोलाको पुरानो पुलको पनि मर्मतको काम भइरहेको छ । यो पुलको ६० प्रतिशत मर्मतको काम सकिएको बताइएको छ ।
मेची पहाडलाई जोड्ने यस सडकखण्ड अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुङसम्म आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको थियो । अहिले पनि पहिरोमाथि खोलिएको ट्याङ्कमा यातायात सञ्चालन हुँदै आएको छ । इलाम सदरमुकाम र माईजोगमाई गाउँपालिका तथा सन्दकपुर गाउँपालिकामा पानी पर्नासाथ चिन्ता सुरु हुने माईखोला राजदुवाली क्षेत्रमा तत्काल मर्मत हुँदै गरे पनि यसको दीर्घकालीन समाधान भने निकै कठिन छ । मेची राजमार्गको माईखोला राजदुवालीको समस्या ज्युँकात्युँ रहँदा विकल्पमा राखिएका सडकमा पनि ठुलो प्रगति छैन । अहिले मेची राजमार्गको तिल्केनी–सिमल गोलाइमा पर्ने जोगमाई खोला र केचना–कञ्चनजङ्घामा पर्ने माईखोला बेलासे तथा पुुवाखोलामा बेलिब्रिजका लागि जगको काम भइरहेको इलामका सडक डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिनुुभयो ।
यी तीन वटा बेलिब्रिज जोड्ने प्राविधिकको टोली भारतबाट नेपाल हिँडिसकेको र केही दिनमा जडान सुुरु हुने उहाँ बताउनुुहुन्छ । केचना–कञ्चनजङ्घा सडकको भन्ज्याङतर्फको सडकमा भने ठेकेदारले अति नै सुस्त गतिमा काम गरिरहेको छ । वर्षाअगावै सक्नुपर्नेमा नसकिए ठेक्का तोड्ने अवस्था आउने प्रमुख भट्टराईको भनाइ छ ।


