इटहरी । मोरङको सुन्दरहरैंचा–१२ स्थित सुक्रबारे खेल मैदानमा “चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२” आयोजना हुने भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न पालिकाका टोलीहरूको सहभागिता रहने आयोजक सुन्दरहरैंचा नगर खेलकुद विकास समितिले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्क श्रेष्ठका अनुसार प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिका बीच हुनेछ । त्यसैगरी जेठ १७ गते सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिका आमनेसामने हुनेछन् भने जेठ १८ गते केराबारी गाउँपालिका र शिवसताक्षी नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ ।
जेठ १९ गते लेटाङ नगरपालिका र इटहरी उपमहानगरपालिका बीच खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सेमिफाइनल खेलहरू जेठ २० र २१ गते दिउँसो ३ बजे हुनेछन् भने फाइनल खेल जेठ २३ गते शनिबार आयोजना गरिनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । स्थानीय तहका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने प्रतियोगितामा खेलप्रेमी दर्शकको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


