इटहरी । सुनसरीको इटहरीमा ‘१६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८३’ सुरु भएको छ ।

सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा इटहरी रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा सुनसरी जिल्लाभरिका खेलाडीहरूको सहभागिता रहेको छ । उद्घाटनका दिन एथलेटिक्स, भलिबल, कबड्डी, उशु, कराते तथा तेक्वान्दो खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगिता सम्म पु¥याउन कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले पहल गर्ने बताइएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रम सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिमल पोख्रेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले प्रतियोगिता केही ढिलो सुरु भए पनि खेल मार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्दै उनीहरूलाई अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले खेलाडीहरूको क्षमता विकास र प्रोत्साहनका लागि समिति निरन्तर लागिपर्ने उल्लेख गर्नुभयो । त्यसैगरी प्रमुख अतिथि मन्त्री महतोले प्रदेश सरकार खेलकुद र खेलाडीको हितका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न योजना अघि बढाइरहेको समेत जानकारी दिनुभयो । प्रतियोगिताको समापन आजै हुने तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ लगायत खेलकुद क्षेत्रमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।