इटहरी । मोरङको पथरी शनिश्चरेमा सृजना अनुष्ठान तथा स्रष्टा सम्मान कार्यक्रम सुरु भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको मनोहर पार्कमा आयोजित कार्यक्रममा स्थानीय सर्जक तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सर्जकहरूको कृतिमाथि सिर्जना विमर्श समेत गरिएको छ। कार्यक्रमको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रवक्ता तथा वडाध्यक्ष नवीन जंग कार्कीले गर्नुभएको थियो। उहाँले गणतन्त्र दिवसको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न प्रेरणा मिलोस् भन्ने भावसहित शुभकामना कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा कृष्ण प्रसाद अधिकारी, विद्रोही कान्छा उर्फ अशोक कुमार साम्पाङ्ग राई, सुमन राई, गणेश वाच्छना राई, राजेन्द्र विवश, ओमप्रकाश शर्मा ‘अभिन्न’, लक्ष्मी प्रसाद फूयाल, कमल तिमिल्सिना, रमेश ‘ओझेल’, मञ्जरी घिमिरे, विवेक कार्की, रविन भट्टराई ‘सायरी’, केशव ‘भारद्वाज’ निरौला लगायतका सर्जकहरूले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कविता, गीत, गजल र मुक्तक लगायत साहित्यका विभिन्न विधा समेटिएका थिए।
कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेका अध्यक्ष धनराज राई अमिरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा प्रस्तुत साहित्यिक रचनामाथि लोकप्रिय कवि हेमन यात्रीले सिर्जना विमर्शको सहजीकरण गर्नुभएको थियो। आयोजकका अनुसार स्थानीय सर्जक र विद्यालयका विद्यार्थीबीच साहित्यिक वातावरण थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यसै कार्यक्रमअन्तर्गत भोलि लामो समयसम्म नगर क्षेत्रमा सक्रिय रही एक दर्जनभन्दा बढी खोजमूलक पुस्तक प्रकाशन गर्नुभएका स्वर्गीय दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त स्रष्टा सम्मान प्रदान गरिने भएको छ भने विभिन्न नाटकहरू प्रदर्शन गरिने जनाइएको छ।


