इटहरी । झापाको मेचीनगर नगरपालिका–८, जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बेलुका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

अन्दाजी ३५ देखि ४० वर्ष उमेरका ती पुरुष उत्तानो परेको अवस्थामा फेला परेका हुन्। शवको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।