इटहरी। पानीको बहाब बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतीघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो ।
खाँदबारी नगरपालिका–९, सतीघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने उक्त फेरी एक सातादेखि सञ्चालनमा नरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । नदी धमिलो हुनुका साथै बहाब तीव्र बनेपछि फेरी सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ ।
सतीघाटको फेरी भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको छ । पक्की पुल नबनेकाले वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि यहाँ फेरी सञ्चालनमा ल्याइएको थियो । सङ्घीय र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट जनही ७५ लाख रुपियाँ तथा षडानन्द नगरपालिकाबाट ५५ लाख रुपियाँ लगानी गरी फेरी निर्माण गरिएको षडानन्द नगरपालिकाले जनाएको छ ।
फेरी बन्द भएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । बर्खायाममा नदीमा पानी बढेपछि फेरी पूर्ण रूपमा बन्द हुने र झोलुङ्गे पुल हुँदै सामान बोकेर ओसार्नुपर्ने बाध्यता रहेको स्थानीयवासी रबिन तामाङले बताउनुभयो ।
स्थानीयका अनुसार फेरी वर्षमा नियमित रूपमा करिब छदेखि आठ महिना मात्र सञ्चालन हुने गरेको छ । हिउँदमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सेवा सञ्चालन भए पनि बर्खा लागेपछि पटक पटक अवरुद्ध हुने गरेको छ । फेरीबाट दैनिक एक सयभन्दा बढी साना तथा ठुला सवारीसाधन आवतजावत गर्ने गरेका छन् । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि यही फेरी सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु ओसारपसारको मुख्य माध्यम बनेको छ ।
फेरीले तत्काल समस्या समाधानमा केही राहत दिए पनि दीर्घकालीन समाधानका लागि सतीघाटमा पक्की पुल निर्माण आवश्यक रहेको नगरप्रमुख उदासले बताउनुभयो । उहाँले पुल निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिनुभयो ।

