इटहरी । इलामको सूर्योदय नगरपालिका–४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बमजमडाँडातर्फ बाँस बोकेर जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडी चालक सूर्योदय नगरपालिका–४ बमजमडाँडा निवासी ४५ वर्षीय विलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा सहचालक सूर्योदय–४ श्रीबुङका २० वर्षीय कुन्दन वाइबा घाइते भएका छन्। उनको कम्मरको बायाँ भागमा चोट लागेको छ र श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै, गाडीमा सवार सोही स्थानका ४३ वर्षीय विशाल थुलुङ राईको टाउको तथा कम्मरमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल रेफर गरिएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण साँघुरो कच्ची सडक रहेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।