इटहरी । नेपाल–भारत खुला सिमानाबाट सरकारले एक सय रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउन प्रतिबन्ध लगाए पनि नाकानाकाबाट ठूलो मात्रामा लागुऔषध तथा अन्य सामग्री भित्रिने गरेको पाइएको छ ।
सोमबार साँझ ५ बजे कचनकवल गाउँपालिका–६ बनियानीमा भारतको किसनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ बस्ने २० वर्षीय युवराजालाई जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उहाँको साथबाट ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर ९प्लास्टिकसहित०र बीआर ३२ भी ६९०९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । उहाँलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले भारतबाट नेपाल ल्याइँदै गरेको विभिन्न प्रजातिका मरेका माछा १४० केजी बरामद गरेको छ । उक्त माछा पत्रकार र जनप्रतिनिधिको रोहवरमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही कार्यालयको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २२ बोरा युरिया मल समेत बरामद गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक रवि राईले बताउनुभयो ।


