इटहरी । उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मङ्गलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इँटाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय मोटरसाइकल चालक हेमन्त सदालाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकलमा पछाडि सवार त्रियुगा नगरपालिका–१२ सोनापुर निवासी १८ वर्षीय राकेश सदाको शरीरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा रिफर गरिएको र हाल त्यहीँ उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय त्रियुगाबाट प्रहरी टोली घटनास्थलमा खटिई उद्धार कार्य गरेको थियो । दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

