इटहरी । पूर्वको प्रसिद्ध छिन्ताङदेवीको दिदी मानिने धर्मदेवी मन्दिर, तीन वटा आकर्षक झरना र याक्खा संस्कृतिको अनुपम सङ्गम रहेको धनकुटाको माझगाउँमा सम्भावनायुक्त पर्यटकीय गन्तव्य रहेको छ तर सडक, पूर्वाधार र प्रचारप्रसारको अभावले महालक्ष्मी नगरपालिका–२ रहेको यो क्षेत्र ओझेलमा परेको छ । छिन्ताङ मन्दिरमा दैनिक सयौँ भक्तजन पुग्दा धर्मदेवीमा भने स्थानीयबाहेकका भक्तजन पुग्ने गरेका छैनन् । 

धार्मिक मान्यता अनुसार धर्मदेवी जेठी, हुम्बुङ माहिली र छिन्ताङदेवी कान्छी देवीका रूपमा मानिन्छ र त्यही अनुसार सुरुमा बिहान धर्मदेवीमा, दिउँसो हुम्बुङ र साँझमा छिन्ताङदेवीमा पूजाआजा गर्ने तथा गर्नुपर्ने प्रचलन रहिआएको छ । यहाँ पूजाआजा गरी वर मागे पूरा हुने विश्वास छ । त्यस्तै विभिन्न अवस्थामा भाकल गर्ने र पछि गएर भाकल छिन्ने प्रचलनसमेत रहिआएको स्थानीय युवेन तुम्बा बताउनुहुन्छ । पूर्वाधार तथा प्रचारप्रसार अभावका कारण यो स्थान ओझेलमा परेको स्थानीयको गुनासो छ । तुम्बाको अनुसार यहाँसम्म आउने सडक सहज नहुँदा धार्मिक पर्यटक आउन सकेका छैनन् । सहज सडक निर्माण भए सहजै रूपमा भक्तजन आउने उहाँको भनाइ छ । कोशी राजमार्ग अन्तर्गत चित्रे वसन्तपुर सडकखण्डको दाह्रे गौँडा तथा लेगुवाबाट यहाँ पुग्न सकिन्छ । त्यस्तै महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारबाट पनि यहाँसम्म पुग्न सकिन्छ । 

मन्दिरबाट करिब तीन किलोमिटरको दुरीमा लेगुवा झरना रहेको छ । प्रचारप्रसार र पूर्वाधार अभावका कारण पर्यटकको नजरमा नपरेका यो झरना निकै मनमोहक छ । वडा नं। २ र ३ सिमानामा रहेको लेगुवाखोलामा ५० देखि एक सय मिटर अग्ला तीन वटा छाँगा रहेका छन् । प्रशस्त पानी छङछङ बगिरहेकाले झरना निकै सुन्दर देखिन्छ । एकै ठाउँबाट सबै छाँगा नदेखिने भएकाले फरक फरक स्थानबाट अवलोकन गर्नुपर्ने हुन्छ । त्यस्तै लेगुवा झरनानजिकै वडा नं। ३ तर्फ चट्टानको बिचबाट दुई झरना झरेका छन् । करिब दुई सय मिटर अग्लो धोबीखोला झरना रहेको छ । सोही झरनानजिकै अर्को एक सय मिटरभन्दा अग्लो झाँव्रmी झरना छ । चट्टानको बिचबाट निस्किएको पानीले सबैलाई मोहित पार्छ । सडक तथा पूर्वाधार निर्माण आवश्यकता अनुसार नभएकाले पर्यटकको ध्यान पुग्न नसकेको स्थानीय डिकबहादुर लुम्बा बताउनुहुन्छ । त्यस्तै पूर्वाधारसँगै प्रचारप्रसार पनि हुन नसकेको अर्का स्थानीय शिवनारायण पौडेल बताउनुहुन्छ । 

झरनासम्म पुग्ने पहुँचमार्ग, सिँढी, झरना हेर्ने झोलुङ्गे पुललगायतका पूर्वाधार त निर्माण भइसकेका छन् तर अझै धेरै निर्माण गर्न बाँकी रहेको वडा नं। २ का वडाध्यक्ष पदम रखालमगर बताउनुहुन्छ । गर्नुपर्ने काम धेरै र लगानीका लागि थौरै बजेट आउने भएकाले आवश्यकता अनुसारको काम गर्न नसकेको उहाँको भनाइ छ । झरनालाई मुख्य प्राथमिकता राखेर काम गरे पनि बजेट अभावका कारण पूर्वाधार निर्माण पूर्ण रूपमा नभइसकेको तथा प्राकृतिक विपत्तिको सामना गर्नुपर्दा आशातीत उपलब्धि हासिल गर्न नसकेको नगरपालिकाका प्रमुख धु्रवराज राय बताउनुहुन्छ । मुख्य सडक पनि कालोपत्रे गर्न पटक पटक माग गर्दा केन्द्र र प्रदेश सरकारले खास चासो नदिएको उहाँको गुनासो छ । 

माझगाउँमा पुरानो याक्खा बाक्लो बस्ती रहेको छ । गाउँमा सहरको गल्लीको अनुभव गर्न पाइन्छ । त्यस्तै याक्खा जातिको पुराना घर रहनसहन कला संस्कृति नियाल्न पाइन्छ । सहज सडक तथा आवश्यक थप पूर्वाधार र प्रचारप्रसार गर्न सके यो पूर्वकै मुख्य पर्यटकीय गन्तव्य बन्ने स्थानीयको आशा छ ।