इटहरी । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
फुङलिङ नगरपालिका–२ शिक्षा लाइन क्षेत्रमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुई युवामाथि जाँच गर्ने क्रममा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो । जाँचका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–६ स्थायी घर भई हाल फुङलिङ–२ बस्दै आएका २१ वर्षीय बिकेश लिम्बुको साथबाट ट्रामाडोल ३७ क्याप्सुल र ‘क्लेरियो’ लेखिएको ३८ ट्याब्लेट बरामद गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका–९ निवासी २१ वर्षीय फुपु शेराप शेर्पाको कोठामा गरिएको खानतलासीका क्रममा ट्रामाडोल २० क्याप्सुल र ‘क्लेरियो’ लेखिएको २० ट्याब्लेट फेला परेको छ ।
बरामद गरिएको औषधी लागुऔषधजन्य पदार्थको रूपमा प्रयोग हुने आशङ्कामा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा २२ ९ग० बमोजिम मुद्दा दर्ता गरी सम्मानित ताप्लेजुङ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो । प्रहरीले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लाभर निगरानी र कारबाहीलाई तीव्र बनाइएको समेत जनाएको छ ।


