इटहरी ।  धनकुटामा रहेको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा पानढीकी टक्सार भवनको जीर्णोद्धार कार्य सुरु भएको छ।

लामो समयदेखि ओझेलमा परेको उक्त सम्पदाको संरक्षण र पुनर्जीवनका लागि निरन्तर पहल भएपछि पुरातत्व विभागले चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको हो।राणाकालमा पूर्वी नेपालका लागि प्रशासनिक केन्द्र ९गौंडा० रहेको धनकुटामा तामाका दुई पैसा र पाँच पैसाका सिक्का निर्माण गरिन्थ्यो। तामाको अभाव भएपछि सिक्का निर्माण कार्य बन्द भएसँगै पानढीकी टक्सार पनि प्रयोगविहीन बनेको थियो। समयक्रममा भवन जीर्ण बन्दै गएपछि यसको अस्तित्व नै सङ्कटमा पर्न थालेको थियो। नेपाली सेनाको सुरक्षा र संरक्षणमा रहेकाले टक्सारको भौतिक अस्तित्व भने हालसम्म सुरक्षित रहेको छ।

धनकुटा नगरपालिका–४ स्थित नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेक परिसरभित्र रहेको टक्सार भवनमा सर्वसाधारणको पहुँच सहज छैन। यद्यपि, नेपाली सेनाले प्रयोगविहीन ऐतिहासिक हातहतियार तथा अन्य सामग्रीको संग्रहालय स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको छ। यसै सन्दर्भमा टक्सार भवनलाई पनि सार्वजनिक पहुँचमा ल्याउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो। टक्सारको ऐतिहासिक महत्त्व उजागर गर्दै विभिन्न सञ्चारमाध्यममार्फत निरन्तर समाचार प्रकाशन तथा प्रसारण भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो।

स्थानीयवासीको साथ र सहयोगमा भएको पहलपछि पुरातत्व विभागले भवन संरक्षणका लागि बजेट विनियोजन गरेको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताउनुभयो। विनियोजित बजेटमार्फत भवनका चर्किएका भित्ताहरू मर्मत गर्ने, झ्याल–ढोकाको पुनःनिर्माण गर्ने तथा परम्परागत सुर्की–चुन प्रयोग गरी रंगरोगन गर्ने कार्य भइरहेको पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो। हाँका अनुसार भक्तपुरस्थित स्मार्ट युथ भिजन कन्स्ट्रक्सन प्रालिसँग २०८३ जेठ ३१ गतेभित्र भ्याटसहित चार लाख ८० हजार ३४८ रुपियाँ ५५ पैसामा काम सम्पन्न गर्ने सम्झौता भएको छ। पुरातत्व विभागका अनुसार आगामी आर्थिक वर्ष २०८३र८४ मा समेत भवनको जीर्णोद्धार कार्यलाई निरन्तरता दिन बजेट विनियोजन गरिएको छ।

भवन संरक्षण कार्य सम्पन्न भएपछि नेपाली सेनाको नियमित गतिविधिमा असर नपर्ने गरी सुरक्षा पर्खाल निर्माण गर्ने, वैकल्पिक पहुँचमार्ग निर्धारण गर्ने तथा टक्सार क्षेत्र सर्वसाधारणका लागि खुला गर्ने विषयमा पहल भइरहेको स्थानीयवासीले बताएका छन्। स्थानीय तथा सरोकारवालाका अनुसार भवनको जीर्णोद्धारपछि सोही स्थानमा टक्सार संग्रहालय स्थापना गरी यहाँ उत्पादन भएका ऐतिहासिक सिक्का, टक्सारसँग सम्बन्धित सामग्री तथा अभिलेखहरू राख्न आवश्यक छ। यसो गर्न सके पानढीकी टक्सार शैक्षिक अध्ययन, अनुसन्धान तथा ऐतिहासिक पर्यटनको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुन सक्ने विश्वास गरिएको छ।

धनकुटाको टक्सारसम्बन्धी तथ्य र अभिलेखहरू हाल विभिन्न निकायमा सीमित रूपमा उपलब्ध रहेका छन्। यसै क्रममा राष्ट्रिय मुद्रा संग्रहालयमा पानढीकी टक्सारका तस्बिर, भवनको विवरण, यहाँ उत्पादन भएका सिक्काका तस्बिर तथा ऐतिहासिक जानकारी समेटिएको जानकारीमूलक पोस्टरसमेत राखिएको छ। यस सामग्रीमार्फत सर्वसाधारणलाई धनकुटाको टक्सार इतिहासबारे जानकारी दिने प्रयास गरिएको छ। नापी कार्यालयको अभिलेखअनुसार २०३९ सालमा उक्त क्षेत्रमा कालीध्वज गुल्म रहेको र टक्सार रहेको जग्गासमेत कालीध्वज गुल्मको नाममा गएको देखिन्छ। त्यसअघि भने मालपोत कार्यालयको अभिलेखमा उक्त जग्गा टक्सारकै नाममा रहेको उल्लेख छ।

साविक धनकुटा बजार–१ को कित्ता नं। ३६४ को नक्सा र फिल्डबुकअनुसार २०३९ सालमा टक्सारको नाममा रहेको १ रोपनी ११ आना ३ पैसा क्षेत्रफल जग्गा कालीध्वज गुल्मको नाममा दर्ता भएको नापी कार्यालयको अभिलेखमा उल्लेख छ। लामो समयदेखि उपेक्षित बनेको पानढीकी टक्सारको संरक्षण तथा पुनर्जीवनको काम सुरु भएसँगै स्थानीयवासी उत्साहित बनेका छन्। धनकुटाको ऐतिहासिक गौरवका रूपमा रहेको यस सम्पदालाई संरक्षण, प्रवर्धन तथा सार्वजनिक पहुँचमा ल्याउन सके इतिहास, संस्कृति र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।