इटहरी। त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्र, कोशी प्रदेश इटहरी तथा ज्ञान मन्दिर योग सेन्टर, इटहरीको संयुक्त आयोजनामा धनकुटाको भेडेटार–नाम्जेमा सञ्चालन गरिएको चारदिने आवासीय योग तथा ध्यान शिविर सम्पन्न भएको छ।
शिविरमा आध्यात्मिक प्रशिक्षक चचित माँ निशा कबिर मुख्य प्रशिक्षकका रूपमा सहभागी हुनुभएको थियो। उहाँको प्रशिक्षणमा सहभागीहरूले योग, ध्यान, आत्मचिन्तन तथा सकारात्मक जीवनशैलीसम्बन्धी विविध अभ्यास गरेका थिए। शिविरमा सहभागीहरूले चार दिनसम्म निशा कबिरसँगको सान्निध्य र मार्गदर्शनबाट जीवनमा सकारात्मक ऊर्जा, आत्मविश्वास तथा मानसिक शान्ति प्राप्त गरेको अनुभव सुनाएका छन्।
सहभागीमध्येका युवराज कोइरालाले ध्यान शिविरले आफूलाई अझ गहिरोसँग चिन्ने, बुझ्ने र आत्मचिन्तन गर्ने अवसर प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार शिविरले जीवनप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउँदै आत्मविकासको मार्गमा अघि बढ्न महत्वपूर्ण प्रेरणा दिएको छ।
आयोजकका अनुसार शिविरले सहभागीहरूको मानसिक, शारीरिक तथा आध्यात्मिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने पनि जनाइएको छ।
शिविरको समापन समारोहलाई सम्बोधन गर्दै चचित माँ निशा कबिरले नेपालका सबै कारागारमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने आफ्नो दीर्घकालीन इच्छा रहेको बताउनुभयो। उक्त अभियानलाई अघि बढाउन त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्र र ज्ञान मन्दिर योग सेन्टरजस्ता प्रतिबद्ध संस्थाको साथ पाएकोमा आफूलाई धन्य महसुस भएको उहाँले व्यक्त गर्नुभयो।
त्यसैगरी, त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्र, कोशी प्रदेश इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले माँ निशा कबिरसँग सहकार्य गरी देशका विभिन्न स्थानमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।उहाँले नेपालका कारागारहरूमा ध्यान शिविर सञ्चालन गर्ने योजना आफूले पनि वर्षौँदेखि बनाउँदै आएको र निशा कबिरको समेत समान इच्छा रहेकाले अब सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी देशभरका कारागारमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने अभियान अगाडि बढाइने बताउनुभयो।
आयोजकहरूले योग र ध्यानमार्फत व्यक्तिको मानसिक शान्ति, आत्मअनुशासन तथा सकारात्मक जीवनदृष्टिको विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।



