धनकुटा / धनकुटाको हिलेमा विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी एक महिने ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सुरु भएको छ। कोशी प्रदेश ब्याडमिन्टन सङ्घको आयोजनामा तथा हिले ब्याडमिन्टन क्लबको स्थानीय व्यवस्थापनमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा १७ वर्षमुनिका तथा कक्षा १० सम्म अध्ययनरत छात्र–छात्राहरूको सहभागिता रहेको छ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन पूर्व जनप्रतिनिधि एवं हिले ब्याडमिन्टन क्लबका प्रमुख सल्लाहकार लालचन्द्र गोम्वाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता कोशी प्रदेश ब्याडमिन्टन सङ्घका अध्यक्ष भोगेन्द्र थापाले गर्नुभएको थियो।

IMG-20260608-WA0031

एक महिनासम्म सञ्चालन हुने प्रशिक्षणमा विश्व ब्याडमिन्टन महासंघ (BWF) लेभल–२ का प्रशिक्षक सञ्जीव श्रेष्ठले प्रशिक्षण प्रदान गर्नेछन्। प्रशिक्षणमार्फत सहभागी विद्यार्थीहरूलाई ब्याडमिन्टन खेलका आधारभूत सीप, प्राविधिक पक्ष तथा प्रतिस्पर्धात्मक खेलसम्बन्धी ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा धनकुटा जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष शिखर श्रेष्ठ, सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्की, हिले ब्याडमिन्टन क्लबका अध्यक्ष आशिष तामाङ, कोशी प्रदेश ब्याडमिन्टन सङ्घका सचिव विकास श्रेष्ठ, कोषाध्यक्ष बुद्ध तामाङलगायत खेलकुदकर्मी, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

IMG-20260608-WA0027

कार्यक्रममा बोल्दै वक्ताहरूले खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीको विकास हुने उल्लेख गर्दै विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने बताएका थिए। उनीहरूले कोशी प्रदेशमा ब्याडमिन्टन खेलको विकास र नयाँ प्रतिभा उत्पादनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

स्थानीय स्तरमा ब्याडमिन्टन खेलको विस्तार, खेलप्रति आकर्षण बढाउने तथा भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्नेछ।

IMG-20260608-WA0036