इटहरी । पाँचथरको फिदिम नगरपालिका–५ मा अवस्थित लब्रेकुटी धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको सङ्गमका रूपमा स्थापित हुँदै गएको छ ।

नेपालका १६औँ राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको कर्मभूमिका रूपमा परिचित यो क्षेत्र पछिल्ला वर्षमा धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास हुन थालेको हो । समुद्री सतहबाट करिब दुई हजार ४४० मिटर उचाइमा रहेको लब्रेकुटीबाट कुम्भकर्ण ९फक्ताङलुङ० र कञ्चनजङ्घा हिमशृङ्खलासहित पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र सङ्खुवासभाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सल्ला, गुराँस र अन्य वनस्पतिले ढाकिएको यो क्षेत्र प्राकृतिक शान्ति र आध्यात्मिक वातावरणका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । लब्रेकुटीका मुख्य पुजारी ध्रुव तुम्बापोका अनुसार ताप्लेजुङमा अवस्थित कुम्भकर्ण हिमाल ९फक्ताङलुङ० याक्थुङ लिम्बू समुदायको प्रमुख तीर्थस्थल मानिन्छ । कठिन हिमाली भूगोलका कारण सबै श्रद्धालु त्यहाँ पुग्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै महागुरु फाल्गुनन्दले विसं १९७८ वैशाखमा लब्रेकुटीमा कुम्भकर्णकै प्रतीकका रूपमा ‘मुजोत्लुङ माङ्युक्नादेन’ स्थापना गर्नुभएको थियो । उहाँले फक्ताङलुङ पुग्न नसक्ने श्रद्धालुले लब्रेकुटीमा सेवा गरे पनि समान धार्मिक पुण्य प्राप्त हुने विश्वास स्थापित गर्नुभएको थियो । त्यसयता लब्रेकुटी ‘दोस्रो फक्ताङलुङ’ का रूपमा श्रद्धापूर्वक पूजिने गरिएको छ ।

महागुरु फाल्गुनन्दले विसं १९८३ असोजमा लब्रेकुटीमा माङहिम स्थापना गर्नुभएको इतिहास छ । त्यसपछि विसं १९८८ वैशाख २४ गते यही स्थानमा तत्कालीन पल्लो किराँत लिम्बुवान क्षेत्रका अगुवालाई भेला गराई सातबुँदे सत्यधर्म मुचुल्का घोषणा गर्नुभएको थियो । उक्त घोषणा किराँत समाज सुधार आन्दोलनको ऐतिहासिक दस्ताबेजका रूपमा लिइने किराँत इतिहासका जानकार सुवास तुम्बापो बताउनुहुन्छ । यसै ऐतिहासिक घटनाको स्मरणमा हरेक वर्ष वैशाख २४ गते समाज सुधार दिवस तथा कात्तिक २५ गते महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइँदै आएको छ । नेपालका विभिन्न जिल्लाका साथै भारत, भुटान र म्यान्मारबाट समेत श्रद्धालु भक्तजन यहाँ पुग्ने गरेका छन् । यसले लब्रेकुटीलाई अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा समेत परिचित बनाएको छ । 

धार्मिक महìवसँगै लब्रेकुटी जैविक विविधताले पनि समृद्ध छ । करिब ३४७ रोपनी क्षेत्रमा फैलिएको यस क्षेत्रमा सल्ला, गुराँस, बहुमूल्य जडीबुटी तथा विभिन्न वन्यजन्तुको प्राकृतिक वासस्थान रहेको छ । वसन्त ऋतुमा गुराँसले ढाकिने वन र स्वच्छ वातावरणले यहाँको आकर्षण थप बढाएको छ । लब्रेकुटीलाई धार्मिक तथा पदयात्रा पर्यटनसँग जोड्न विभिन्न पूर्वाधार निर्माणका काम पनि अघि बढिरहेका छन् । स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास कार्यव्रmम अन्तर्गत फिदिमको फाल्गुनन्द चोक–रमिते भ्युटावर–लब्रेकुटी–सिलौटी–पौवाभन्ज्याङ–सुकेपोखरी–छिन्तापु हुँदै तिम्बुङ पोखरी जोड्ने ‘फाल्गुनन्द ट्रेल’ निर्माण भइरहेको छ । फिदिम नगरपालिकाले कान्छीदोकान बजारदेखि लब्रेकुटीसम्मको सडकलाई बाह्रैमहिना सञ्चालनयोग्य बनाउने गरी स्तरोन्नतिको काम गरिरहेको छ । लब्रेकुटी क्षेत्रमा इन्टरनेट सेवा विस्तार, विश्रामस्थल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणका कार्य पनि अघि बढाइएको छ । फिदिम नगरपालिका–५ का वडाध्यक्ष भरत तुम्बापोले धार्मिक तथा पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै हरेक वर्ष आवश्यक बजेट विनियोजन गरी पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउनुभयो ।

यसै वर्ष लब्रेकुटीमा माङहिम स्थापना भएको एक सय वर्ष पूरा हुँदै छ । शताब्दी वर्षको अवसरमा देश तथा विदेशबाट श्रद्धालु, अनुसन्धानकर्ता र पर्यटकको सहभागितामा विशेष कार्यव्रmम आयोजना गर्ने तयारी भइरहेको सम्बन्धित पक्षले जनाएको छ । आस्था, इतिहास, संस्कृति र प्रकृतिको अद्वितीय सङ्गम बनेको लब्रेकुटीले धार्मिक पर्यटनको नयाँ सम्भावना बोकेको छ । पूर्वी नेपालको यो पवित्र स्थलले आध्यात्मिक शान्तिको खोजीमा आउने श्रद्धालु मात्र होइन, इतिहास र प्रकृतिलाई नजिकबाट बुझ्न चाहने पर्यटकलाई पनि उत्तिकै आकर्षित गरिरहेको छ । जहाँ नेपालका विभिन्न भूभाग सँगै भारत, सिक्किम, हङकङ र सिंहापुरसम्मबाट किराँत धर्मका अध्येता र अनुसन्धाता आइपुग्छन् ।