इटहरी । नेपालले सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्यलाई मध्यनजर गर्दै कोसी प्रदेशका स्थानीय तहसम्म समुदाय परिचालन गर्ने उद्देश्यले सामाजिक परिचालकहरूको क्षमता अभिवृद्धि अभियान सुरु गरिएको छ ।
समुदाय केन्द्रित अभियानको निरन्तरता स्वरूप इटहरीमा सम्पन्न दुईदिने तालिमबाट झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरका ६० जना सामाजिक परिचालक प्रशिक्षित भएका छन् । बागमती सेवा समाज नेपाल र कोसी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्राविधिक सहयोगमा दुई चरणमा सम्पन्न तालिममा क्षयरोगको रोकथाम, समयमै पहिचान, उपचारमा पहुँच, बिरामीको अधिकार, लैङ्गिक समानता तथा क्षयरोगसँग जोडिएको सामाजिक कलंक र विभेद न्यूनीकरणका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा सहभागी सामाजिक परिचालकहरूले अब आफ्ना स्थानीय तहमा पुगेर समुदायमा क्षयरोगबारे सचेतना फैलाउने, शंकास्पद बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउने, उपचारलाई निरन्तरता दिन सहजीकरण गर्ने तथा बिरामीमाथि हुने विभेद र कलंक अन्त्यका लागि अभियान सञ्चालन गर्नेछन् । स्वास्थ्यकर्मीहरूका अनुसार नेपालमा प्रत्येक वर्ष हजारौं नयाँ क्षयरोगका बिरामी थपिने गरे पनि सामाजिक कलंक, जानकारीको अभाव र उपचारमा ढिलाइका कारण रोग नियन्त्रणमा चुनौती कायमै छ । त्यसैले सरकारी स्वास्थ्य संयन्त्र सँगै समुदायलाई प्रत्यक्ष परिचालन गर्नुनै २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिको महत्वपूर्ण आधार मानिएको छ । कोसी प्रदेशमा सञ्चालन गरिएको यस्तो समुदाय केन्द्रित पहलले स्थानीय तहसम्म क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बिशेषज्ञ आशा बुढाले क्षयरोगसँग जोडिएका सामाजिक आयाम, विभेद र कलंक, लैङ्गिक अवधारणा, लैङ्गिक असमानताले क्षयरोगको जोखिम, पहिचान र उपचारमा पार्ने प्रभाव लगायत विषयमा प्रशिक्षण दिनुभएको थियो ।


