इटहरी। सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि कटान नियन्त्रणको काम सुरु गरिएको छ ।

स्थानीयको सहभागितामा सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टापुमा बस्ती र खेतीयोग्य जमिन जोगाउन स्थानीय तह तथा सुरक्षा निकायले संयुक्त रूपमा कटान नियन्त्रणको काम सुरु गरेका छन् । एक सातादेखि चिलैया, गरैया क्षेत्रमा नदीले तीव्र कटान गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । नदीले जमिन कटान गर्न थालेपछि स्थानीयले आफ्नै श्रमदानबाट बाँस, झिक्रासहितका रुखका हाँगा तथा माटो भरिएका बोरा प्रयोग गरी जैविक तटबन्धन निर्माण गरेर नदीको बहाब मोड्ने प्रयास गरिरहेका हुन् । 

स्थानीय ५८ वर्षीय बद्री राईका अनुसार यसअघि पनि स्थानीय स्रोतसाधन प्रयोग गरेर कटान रोक्ने प्रयास हुँदै आएको थियो । नदीमा पानी घटेकाले बुधबार पनि स्थानीयको सहभागितामा रोकथामको प्रयास गरिएको हो । मङ्गलबार वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, उदयपुरको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी तथा स्थानीयको संयुक्त टोलीले कटानग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरी कटान नियन्त्रणको काम सुरु गरेको थियो । वराहक्षेत्र नगरपालिकाले माटो, बोरालगायत आवश्यक सामग्री उपलब्ध गराएको छ भने स्थानीय श्रमदानमार्फत कटान नियन्त्रणमा जुटेका छन् । नदीको बहाब नियन्त्रण गरी थप क्षति हुन नदिन सम्बन्धित निकायसँग समन्वय भइरहेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । 

स्थानीय बद्री राईका अनुसार कटान भएको क्षेत्रमा झिक्रासहितका बाँस, रुखका हाँगा तथा माटो भरिएका बोरा राखेर नदीको बहाब कम गर्ने प्रयास गरिएको छ । नगरप्रमुख रमेश कार्कीले चिलैया क्षेत्रको भूभागमा कटान भइरहेकाले रोकथामको प्रयास गरिएको बताउनुभयो । कटानको दीर्घकालीन समाधानका लागि कोशी परियोजना, जिल्ला प्रशासन कार्यालय र भारतीय पक्षसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गत हिउँदमा निर्माण गरिएका १८ वटा ढुङ्गा भरिएका तारजालीयुक्त स्परमध्ये केही नदीको कटानमा परेर डुब्न थालेपछि स्थानीयवासीसँग मिलेर तत्काल संरक्षणको काम सुरु गरिएको छ । सप्तकोशी नदीले करिब पाँच दशकअघि धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ तथा उदयपुरको बेलका नगरपालिका २ र ३ मा फैलिएको छ ।

करिब तीन हजार जनसङ्ख्या रहेको टापुका अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर छन् । मकै, बेसार, टमाटर, बोडीलगायतका बाली यहाँको मुख्य आम्दानीको आधार भए पनि बर्सेनि दोहोरिने कटानका कारण खेतीयोग्य जमिनसँगै बस्तीसमेत जोखिममा पर्दै आएको छ ।