इटहरी। नेपाली चियाको ‘अर्गानिक’ प्रमाणीकरणका लागि किसान र उद्योगले बर्सेनि लाखौँ रुपियाँ खर्च गर्दै आएका छन् । देशभित्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नहुनु र भएको प्रयोगशालाले पनि मान्यता नपाउँदा बर्सेनि लाखौँ रुपियाँ खर्च गनुपर्ने बाध्यतामा चिया उत्पादक र चिया उद्योग छन् । अन्तर्राष्ट्रिय– स्तरका नासा, आइओएम, सेरेसलगायतका संस्थाले नेपाली चियाको बोटसम्मै आएर अर्गानिक भए नभएको प्रमाणित गरेपछि मात्र नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा जाने अवसर पाउँछ । यसका लागि ती संस्थामा निवेदन दिनु पर्छ ।एक वर्षमा तीन/चार पटकसम्म अनुगमन र अध्ययन गरेपछि मात्र उनीहरूले अर्गानिक भएको सिफारिस पठाउँछन् । केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई भन्नुहुन्छ, “विदेशबाटै इन्स्पेक्सन टोलीको खर्चसमेत सबै हामीले गर्नु पर्छ ।” किसानको चिया बगानलाई लगातार तीन/चार वर्ष हेरेपछि मात्र ती संस्थाले अर्गानिक प्रमाणीकरण गर्छन् । एक पटक प्रमाणीकरण भइसकेपछि पनि बर्सेनि तिनै संस्थाबाट अर्गानिक प्रमाणीकरणको नवीकरण गर्नु पर्छ । यसका लागि पनि ती संस्थाका प्रतिनिधि आएर किसानको बगान अध्ययन गरेपछि मात्रै नवीकरण हुने गरेको छ ।
इलामका चिया उद्योगले वार्षिक आठदेखि ३२ लाख रुपियाँसम्म प्रमाणीकरणमै खर्च गर्ने गरेका छन् । यसरी प्रमाणीकरण भएको चिया जर्मन, रसिया, फ्रान्स, नेदरल्यान्ड, अमेरिका, हल्यान्ड, बेल्जियमलगायत युरोपियन मुलुक र छिमेकी राष्ट्र चीनमा जाने गरेको छ । इलामका गोर्खा टी स्टेट, जसबिरे चिया उद्योग, तीनजुरे चिया सहकारी, उच्च पहाडी चिया सहकारीलगायत दर्जनौँ उद्योगले उत्पादन गरेको ‘स्पेस्यालिटी टी’ तेस्रो मुलुक जाने गरेको छ ।
त्यसो त विगतमा भएका चियाका विश्वभरका विभिन्न प्रदर्शनीमा तीनजुरे, जसबिरे गोर्खालगायतका उद्योगका चियाले ‘गोल्ड मेडल’ पनि प्राप्त गरेका थिए । नेपाली चियाको स्वाद र बास्नामा विदेशीहरू निकै लोभिने गरेको पनि चिया व्यवसायी बताउँछन् । राज्यको लगानी नहुनु, किसानलाई सहयोग नहुनु र आफ्नै प्रयोगशाला नहुनु नेपाली चियाका लागि ठुलो दुर्भाग्य रहेको उनीहरूको गुनासो छ । “हामीले बर्सौंदेखि अर्गानिक उत्पादनका लागि समय र मूल्य खर्चिएका छौँ,” गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भन्नुभयो, “यस पटक प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नेमा चासो देखाउनुभएको छ ।
हामी त्यसमा आशावादी छौँ ।”प्रयोगशाला परीक्षणकै नाममा गत मेमा भारतले कडाइ गरेपछि नेपाली चिया निर्यात करिब २२ दिन ठप्प थियो । त्यसपछि इलामको माईपूर्वका चिया उद्योगले दुई पात एक सुइरो चियालाई प्राथमिकता दिन थालेका छन् । यहाँका उद्योगले किसानको चियाको मूल्य पनि प्रतिकिलो ५० देखि ६० रुपियाँ दिइरहेको बताइएको छ । “किसानले पहिलेभन्दा राम्रो चिया दिन थाल्नुभएको छ,” सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूले भन्नुभयो, “अर्गानिक प्रमाणीकरण खर्चिलो छ । सरकारले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गरिदिन्छ भने हामी पूर्ण अर्गानिकमै जान प्रतिबद्ध छौँ ।”
प्रधानमन्त्री वालेन्द्र शाहले साउन ८ मा ‘अर्गानिक एसोसिएसन नेपाल’ का पदाधिकारीसँग छलफल गर्दै नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन निर्देशन दिनुभएको थियो ।


