इटहरी : केही समयदेखि देखिएको खाना पकाउने ग्यासको समस्या क्रमशः सहज बन्दै गएको छ।
बजारमा मागभन्दा बढी ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्दा अभावको अवस्था देखिएको प्रिमा ग्यासकी म्यानेजर चन्द्रकला गुरुङले बताइन्। बिहीबार धरानका विभिन्न स्थानमा ८ सय सिलिन्डर प्रिमा ग्यास वितरण गरिएको गुरुङले जानकारी दिइन्। उनका अनुसार धरान–१४ विजयपुरमा १ सय, छाताचोकमा १ सय ८०, धरान–१० राँगाचोकमा २ सय ४० र धरान–११ कल्याणचोकमा २ सय ८० सिलिन्डर वितरण गरिएको हो। पछिल्ला दिनमा दैनिक ५ सय सिलिन्डर वितरण हुँदै आएकोमा बिहीबार ८ सय सिलिन्डर वितरण गरिएको उनले बताइन्। पहिले मासिक ९ देखि १० हजार सिलिन्डर ग्यास आउँदा अभाव नदेखिएको भए पनि अहिले प्रिमा ग्यास मात्रै मासिक करिब १५ हजार सिलिन्डर वितरण भइरहेको गुरुङले बताइन्। उनका अनुसार केही उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गरेर राखेकाले बजारमा अभावजस्तो देखिएको हो। असार ३१ गतेदेखि ग्यास वितरण सुरु गरिएको र अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको उनले बताइन्। धरान–१३ लक्ष्मीचोककी ममता तामाङले केही दिनअघिसम्म नाम टिपाएर ९ दिनसम्म पालो पर्खिनुपर्ने अवस्था रहे पनि अहिले नाम टिपाएकै दिन ग्यास पाउन थालेको बताइन्।
सुनसरीका विभिन्न स्थानमा ग्यास अभाव भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले ग्यास डिलर तथा उद्योगको अनुगमन गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कुनै पनि डिलरले ग्यास लुकाएर कालोबजारी गरेको नपाइएको उनले जानकारी दिए। जिल्लामा रहेका कामाख्या, प्रिमा र सुविधा ग्यास उद्योगको अनुगमन गरिएको थियो। ती उद्योगबाट निरन्तर ग्यास रिफिलिङ गरी बिक्री–वितरण भइरहेको पाइएको उनले बताए। धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्दा बजारमा कृत्रिम अभावजस्तो देखिएको भन्दै डिलरलाई एकपटकमा एक परिवारलाई एउटा मात्र सिलिन्डर उपलब्ध गराउन निर्देशन दिइएको निरौलाले बताए। उनका अनुसार अहिले दैनिक ग्यास वितरण भइरहेको र अभावको समस्या पनि क्रमशः सहज हुँदै गएको छ। यसैगरी धरान उपमहानगरपालिका र इलाका प्रशासन कार्यालयले पनि धरान बजारमा ग्यासको अनुगमन गरेका छन्। धरानमा दैनिक न्यूनतम १ हजार ५ सयदेखि २ हजारसम्म सिलिन्डर ग्यास आउने गरेको धरान उपमहानगरपालिकाको बजार व्यवस्थापन शाखाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए।
अनुगमनपछि आधिकारिक डिलरबाहेक अन्य खुद्रा तथा किराना पसलबाट ग्यास बिक्री–वितरण नगर्न व्यवसायीलाई निर्देशन दिइएको सापकोटाले जानकारी दिए।


