झापा : झापाको मेचीनगर नगरपालिकाले वर्षौँदेखि फछ्र्योट हुन बाँकी बेरुजु रकम घटाउँदै शून्यमा पुर्‍याउने लक्ष्यसहित ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ। 

नगरपालिकाका अनुसार मेचीनगर स्थापना हुनुअघिका गाउँ विकास समितिको पालादेखि थाती रहेका आर्थिक बेरुजुसमेत फछ्र्योट हुन बाँकी छन्। बेरुजु रकम निरन्तर बढ्दै गएपछि त्यसलाई व्यवस्थित रूपमा फछ्र्योट गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।नगरपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्र्योट गर्न सम्बन्धित पक्षलाई सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार अभियानलाई चरणबद्ध रूपमा अघि बढाइनेछ। पहिलो चरणमा बेरुजु भएका व्यक्ति तथा संस्थालाई सम्पर्क गरी रकम दाखिला वा आवश्यक प्रमाण पेस गरेर फछ्र्योट गर्न समय दिइनेछ। दोस्रो चरणमा निर्माण व्यवसायी तथा उद्योगी–व्यवसायीको बेरुजु फछ्र्योटका लागि उनीहरू आबद्ध संघ–संस्थामार्फत सहजीकरण गरिनेछ। त्यसबाट पनि बेरुजु फछ्र्योट नभए तेस्रो चरणमा बेरुजु भएका व्यक्तिको विवरण सार्वजनिक गर्ने नगरपालिकाको तयारी छ। महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकाको उक्त वर्षको मात्र बेरुजु १४ करोड ९९ लाख ४ सय ३० रुपैयाँ छ।

त्यसअघिनै अद्यावधिक भएर बाँकी रहेको बेरुजु रकम ८१ करोड ३० लाख ४१ हजार ४ सय ८७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। यसअनुसार आव २०८१/८२ सम्म मेचीनगर नगरपालिकाको कुल बेरुजु ९६ करोड २९ लाख ९६ हजार ९ सय १७ रुपैयाँ पुगेको छ।नगरपालिकाले बेरुजुलाई नियमित रूपमा फछ्र्योट नगर्दा वर्षौँदेखिको रकम एकैपटक ठूलो आकारमा देखिएको जनाएको छ। पुराना गाउँ विकास समितिको समयदेखिका बेरुजु पनि अभिलेखमा रहेकाले त्यसलाई समेत क्रमशः टुंग्याउने योजना बनाइएको छ। प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले अभियानको उद्देश्य बेरुजु असुली मात्र नभई स्थानीय तहको वित्तीय अनुशासन सुधार गर्नु रहेको बताए। अभियान सुरु भएपछि लामो समयदेखि बेरुजु दाखिला वा फछ्र्योट नगरेका केही सरोकारवाला नगरपालिका सम्पर्कमा आउन थालेका छन्। कतिपयले पुरानो बेरुजु रकम फछ्र्योटसमेत गरिसकेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले निर्माण व्यवसायी, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा अन्य सम्बन्धित पक्षलाई आफ्नो नाममा रहेको बेरुजु विवरण यकिन गरी समयमै रकम दाखिला वा आवश्यक कागजात पेस गरेर फछ्र्योट गर्न आग्रह गरेको छ।

स्थानीय तहको वित्तीय व्यवस्थापनमा बेरुजु प्रमुख चुनौतीका रूपमा देखिँदै आएको अवस्थामा मेचीनगरले सुरु गरेको अभियानलाई आर्थिक अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ। नगरपालिकाले अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा नयाँ बेरुजु सिर्जना हुन नदिने र पुरानो बेरुजु क्रमशः घटाउँदै लैजाने योजना बनाएको छ।