इटहरी । सुन्दरहरैँचा–८ सलकपुरस्थित सव डिभिजन वन कार्यालय पछाडिको खेलमैदानमा सम्पन्न अन्डर–१७ फुटबल प्रतियोगिताको उपाधि बुढासुब्बा युथ क्लब सुन्दरहरैँचा–८ ले जितेको छ ।
योङ्ग ब्वाइज एफसी सुन्दरहरैँचा–८ को आयोजनामा भएको रोमान्चक फाइनल खेलमा बेतना युनाइटेड बेलबारीलाई पराजित गर्दै बुढासुब्बाले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। विजेता बुढासुब्बा युथ क्लबले नगद ८ हजारसहित ट्रफी र मेडल प्राप्त ग¥यो भने उपविजेता बेतना युनाइटेडले नगद ५ हजार सहित ट्रफी र मेडलमा चित्त बुझायो। युवा खेलाडीहरूको प्रतिभा पहिचान र खेल भावनाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको खेल संयोजक सन्तोष खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापन कार्यक्रम योङ्ग ब्वाइज एफसीका अध्यक्ष सिर्जन राना मगरको अध्यक्षता र स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचाका अध्यक्ष नेत्रप्रसाद चम्लागाईंको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा, मोरङका अध्यक्ष नेत्रप्रसाद चम्लागाईंले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई युवाको अनुशासन, नेतृत्व क्षमता र व्यक्तित्व विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो ।
युवालाई सामाजिक विकृतिबाट टाढा राखी सकारात्मक बाटोमा डो¥याउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुने प्रमुख अतिथि चम्लागाईंले बताउनुभयो । आयोजक योङ्ग ब्वाइज एफसीका अध्यक्ष सिर्जन राना मगरले युवा प्रतिभालाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा अझ ठूलो स्तरमा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सबैप्रति आभार व्यक्त गर्नुभयो । खेल संयोजक सन्तोष खरेलले खेलाडीको उत्साहले थप हौसला मिलेको भन्दै नियमित प्रशिक्षण र प्रतियोगिताले उत्कृष्ट खेलाडी तयार हुने बताउनुभयो । खेलप्रेमी र अभिभावकको बाक्लो उपस्थिति रहेको उक्त प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ ।


