इटहरी। सामान्यतया नाफा कमाउने उद्देश्यले पुँजी लगानी गरेर व्यवसाय सञ्चालन गरिन्छ । फिदिम बजारका भीम योङहाङ भने नाफा–घाटाको हिसाबभन्दा माथि उठेर रैथाने सीप र संस्कृति संरक्षणका लागि चोयाले बनेका सामग्रीको पसल सञ्चालन गरिरहनुभएको छ ।

विभिन्न जातजातिको परम्परागत सीप र संस्कृतिसँग जोडिएका चोयाका सामग्री बिक्री गर्दै आउनुभएका योङहाङलाई यस व्यवसायबाट आर्थिक लाभ न्यून भइरहेको उहाँको भनाइ छ । लोप हुँदै गएको हस्तकला र सीपलाई जीवन्त राख्ने उद्देश्यले चार वर्षदेखि उहाँले यो कामलाई निरन्तरता दिइरहनुभएको छ ।  उहाँको पसलमा चोयाबाट निर्मित नाङ्लो, डालो, मान्द्रो, थुन्से, डोको, खोँगी, कोक्रोलगायत सामग्री राखिएका छन् ।  नेपाली समाजको परम्परागत जीवनशैली र जीविकोपार्जनसँग जोडिएका यस्ता सामग्री उत्पादन गर्ने हस्तकला सीपको संरक्षण आवश्यक रहेको उहाँको भनाइ छ । योङहाङले चार वर्षअघि करिब ६ लाख रुपियाँ लगानी गरेर नाङ्लो–डालोको पसल सुरु गर्नुभएको हो । गाउँ–गाउँका कालिगढले बुनेर ल्याएका चोयाका सामग्री उहाँले तीन सयदेखि एक हजार आठसय रुपियाँसम्ममा खरिद गरी पसलमा राख्नुहुन्छ । यसबाट गाउँघरमा लोपोन्मुख बन्दै गएको चोया उद्यमलाई चलायमान राख्न सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँका अनुसार सामग्रीमा ५० देखि १०० रुपियाँसम्म मात्र नाफा राखेर बिक्री गर्ने गरिएको छ । उपभोक्ताले फाट्टफुट्ट मात्र खरिद गर्ने भएकाले हुने नाफाले पसलको घरभाडा तिर्नसमेत मुस्किल पर्ने उहाँले बताउनुभयो । चोयाका सामग्री दैनिक उपभोग्य वस्तु नभएकाले एक पटक खरिद गरेपछि लामो समयसम्म प्रयोग गर्न सकिन्छ । प्लास्टिकको सामग्रीको प्रयोग बढ्दै जाँदा चोयाका सामग्रीप्रतिको आकर्षण घट्दै गएको उहाँको अनुभव छ । यस्तो अवस्थामा चोयाका सामग्री बिक्री गरेर जीविकोपार्जन गर्न कठिन भए पनि सीप र संस्कृति संरक्षणका लागि आफूले पसल सञ्चालनलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । 

आफ्नो परिवारको घरखर्च चलाउन भने उहाँले अन्य वैकल्पिक आयस्रोत अपनाउनुभएको छ । चोयाका सामग्रीको बिक्रीबाट पर्याप्त आम्दानी नभए पनि परम्परागत सीप र संस्कृतिको संरक्षणमा योगदान गर्न पाएकोमा उहाँ सन्तुष्ट हुनुहुन्छ । रैथाने चोयाका सीप र प्रविधिको संरक्षण हुन सके नेपाली पहिचानसँग जोडिएका परम्परागत उद्यमको प्रवर्धन हुनुका साथै वातावरणमैत्री सामग्रीको उत्पादन र प्रयोगसमेत बढ्ने उहाँको भनाइ छ । स्थानीय स्रोत साधनको उपयोग बढ्दा ग्रामीण अर्थतन्त्र र स्थानीय रोजगारीमा सकारात्मक प्रभाव पर्ने उहाँ बताउनुहुन्छ ।  दिगो रूपमा रैथाने सिप र संस्कृति संरक्षण गर्न सरकारको समेत अग्रसरता आवश्यक रहेको उहाँको माग छ । राज्यले नीति, बजार र प्रोत्साहनको व्यवस्था गर्न सके लोपोन्मुख परम्परागत सिपलाई पुस्तान्तरण गर्दै स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने उहाँको विश्वास छ ।